आर्थिक वर्ष २०७८/७९ का लागि पोखरा महानगरपालिकाको बजेट ६ अर्ब २७ करोड



काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पोखरा महानगरपालिकाले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

बिहीबार बसेको नवौं नगरसभा बैठकमा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले चालुतर्फ २ अर्ब ९१ करोड र पुँजीगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ बराबर विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट स्रोतका रुपमा महानगरपालिकाले आन्तरिक राजस्व संकलनतर्फ २ अर्ब २२ करोड रुपैयाँ बराबर स्रोत ब्यहोर्ने अनुमान गरेको छ । त्यस्तै संघीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत आएको २ अर्ब ५६ करोड १६ लाख र प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणमार्फत आएको ९ करोड २८ लाख रुपैयाँ बराबरको स्रोत देखाईएको छ ।

महानगरपालिकाले कोभिड १९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारलगायत समग्र स्वास्थ्य क्षेत्रका लागि ४० करोड २२ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ । त्यस्तै शिक्षा क्षेत्रमा १ अर्ब ४२ करोड ८७ लाख रुपैयाँ र कृषिक्षेत्रमा १४ करोड ४९ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ ।

महानगरपालिकाले केन्द्रगत खर्च शीर्षकमा ८८ करोड ८६ लाख, सामाजिक विकास तर्फ १२ करोड ७९ लाख र पूर्वाधार विकासका क्षेत्रमा २ अर्ब ८६ करोड ९० लाख रुपैयाँ बराबर विनियोजन गरेको छ ।

महानगरभित्रका वडाकार्यालयहरुका लागि एकमुष्ठ ४१ करोड ६० लाख रुपैयाँ बराबर बजेट विनियोजन भएको छ ।

असार पहिलो हप्ता सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुमा आएको बाढी पहिरोका कारण सिर्जित समस्या व्यवस्थापन र राहत तथा पुनस्र्थापनाका लागि भन्दै पोखरा महानगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई समान १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने विषय पनि बजेटमा राखेको छ ।

पोखरा महानगरपालिकाको बजेटमा कोभिड–१९ को रोकथाम तथा उपचारलाई पहिलो प्राथमिकता राखिएको उल्लेख छ ।

महानगरपालिकाले पूर्वाधार निर्माणतर्फ वडा कार्यालय भवन तथा महानगरको प्रशासनिक भवन निर्माण, कनेक्टिङ रोडको निरन्तरता, सहरी क्षेत्रमा सडक बत्ती विस्तार र अस्फाल्ट प्रविधियुक्त सडक निर्माणको विषयलाई प्राथमिकतामा राखेको छ ।

चालु आर्थिक वर्षमा ठेक्का सम्झौता भइसकेका र आगामी आर्थिक वर्षको लागि प्रस्तावित कनेक्टिङ सडकतर्फमात्र १ अर्ब २० करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, ताल क्षेत्रतिर स्यानिटरी ल्यान्डफिल साइटको वैकल्पिक व्यवस्था, विभिन्न सामाजिक अभियान र पर्यटन तथा अन्य पूर्वाधारको क्षेत्रमा निजी लगानी प्रोत्साहन गर्ने विषयलाई पनि वार्षिक नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ ।

बेगनास ताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडकलाई नेपालकै नमूना सडकका रुपमा निर्माण गर्ने योजना महानगरको छ ।

महानगरभित्रका वटाहरुलाई एममुष्ठ रुपमा २९ करोड ६० लाख रुपैयाँ बराबर विनियोजन भएको छ । वडाहरुको भूगोल, जनसंख्या, विकासको अवस्था, राजस्व परिचालन र खर्च क्षमता जस्ता सूचकका आधारमा वडाहरुलाई बजेट विनियोजन गरिएको जनाईएको छ ।


क्लिकमान्डु