निषेधाज्ञामा पनि आयात निर्यातमा छैन असर, २५ %ले आयात बढ्दा निर्यात ३७ %ले बढ्यो



काठमाडौं । कोरोना भाइरस महामारीका कारण सरकारले लागू गरेको निषेधाज्ञाले आयात निर्यातमा न्यून असर देखिएको छ ।
चालु आर्थिक वर्षको ११ महिनाको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात निर्यातको अवस्थाले गर्दा निषेधाज्ञामा पनि कुनै प्रभाव नपरेको देखाएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्ममा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार मूल्य बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ८१ करोड ३४ लाख २० हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा आयात २५.६७ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै, गत वर्षको तुलनामा चालु आवमा निर्यात पनि ३७.७८ प्रतिशतले निर्यात बढेको छ । गत आवको जेठमसान्तसम्म नेपालले ८८ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । त्यस्तै चालु आवको सोही अवधिमा नेपालले १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यसैगरी जेठ महिनामा मात्रै १ खर्ब २९ अर्ब २५ करोड ४७ लाख रुपैयाँको आयात हुँदा १२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

त्यस्तै, ११ महिनासम्मको अवधिमा वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । जुन गत वर्षको तुलनामा यो वर्ष २४.६१ प्रतिशतले बढी व्यापार घाटा व्यहोरेको तथ्याङ्कले उल्लेख गरेको छ ।

विभागको तथ्याङ्क अनुसार कुल वैदेशिक व्यापारमा पनि बढेको छ । गत आवको जेठ मसान्तसम्ममा ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । साथै, चालु आवको सोही अवधिमा १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन गत वर्षको तुलनामा २६.५६ प्रतिशतले बढी हो ।

चालु आवमा गत वर्षको तुलनामा ८.७९ प्रतिशतको अनुपातमा आयात निर्यातमा कम आएको विभागले जनाएको छ । साथै सरकारले आयात भएको वस्तु तथा सेवाबाट ३ खर्ब ८२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपालले ११ महिनाको अवधिमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल आयात गरेको छ । त्यस्तै नेपालले सबैभन्दा बढी नेपालले भटमासको तेल, अलैंची, कार्पेट, चिया, जुटबाट बनेको कार्पेटलगायत अन्य वस्तु रहेकोछ ।


क्लिकमान्डु