होटललाई आइपीओ जारी गर्न सहजीकरण गर्न हानको माग



काठमाडौं । होटल एशोसिएसन नेपाल (हान)ले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै होटलको वित्तीय अवस्था अनुसारको आइपीओ निष्कासनका लागि सहजिकरण गर्न माग गरेको छ ।

हाल भइरहेको पुरनकर्जाको व्यवस्थामा थप गर्न माग गरेको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेललाई भेट गरी आगामी मौद्रिक नीतिमार्फत् विभिन्न माग गरेको हो ।

हानले बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको सम्बन्धमा अनुगमन गर्ने तथा हाल कायम रहेका पुनकर्जाको रकम थप गरिनुपर्ने तथा सो कर्जाको अवधि अर्को एक वर्षसम्म कायम गर्न माग गरेको हो ।

त्यसैगरी पुनकर्जा प्रदान गर्दा हाल राष्ट्र बैंकले तोकेको दरमा २ प्रतिशतसम्म थप प्रिमियम लिने गरी गर्ने व्यवस्था रहेकोमा सो प्रिमियम रकम १ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था हुनुपर्ने माग गरेको छ ।

साथै हाल प्रयोगमा रहेका कोभिड लोन असार मसान्तसम्ममा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था रहेकोमा सो कर्जा रकम होटलको व्यवसायिक योजना अनुसार नगद प्रवाह मूल्यांकन गरी भविष्यमा पुरानो कर्जा भुक्तानी भएपश्चात तीन वर्षमा भुक्तानी हुने गरी तालिकीकरण गर्नुपर्ने, पुनकर्जा प्रवाह गर्दा राष्ट्र बैंकबाट तोकिएको दर ३ प्रतिशतबाट न्यूनतम दर कायम गरिने व्यवस्था हुनुपर्ने माग गरेको छ ।

हानले हाल कायम रहेका कर्जा (होटल व्यवसाय निर्माणाधिनमा रहेका तथा सञ्चालनमा रहेका) एक वर्षसम्मको वा कोभिडको असर रहेसम्मको व्याज होटल व्यवसायीको व्यवसायिक योजनाअनुसार भविष्यमा भुक्तानी हुने गरी व्याजको पुँजीकरण गर्न पाउनु पर्ने समेत माग गरेको छ ।

साथै साना तथा मझौला होटलका लागि कम्पनीको लगानीको आकार र आवश्यक व्यवसायिक योजनाको आधारमा बढीमा ५ करोडसम्म विना धितो कर्जा प्रदान हुनुपर्ने माग गरेको छ ।

त्यसैगरी हालको अवस्थालाई मध्यनजर गरिँदै यसरी प्रवाह गरिने थप कर्जा रकम दिँदा हाल कायम रहेको ने.रा. बैकको मापदण्डअनुसार कमसेकम ८० प्रतिशत कर्जा मात्र प्रवाह गर्न पाइने नियम लागू हुनु नपर्ने माग हानको छ ।

त्यसैगरी हानले सामाजिक सुरक्षा कोषमा दाखिला गर्नुपर्ने रकम होटल तथा पर्यटन क्षेत्रको लागि दुई महिनाबाट बढाएर २ वर्षसम्म सरकारबाट जम्मा गरी यस उद्योगको जर्गेना गर्न पाउनु पर्ने समेत माग गरेको छ ।


क्लिकमान्डु