साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट दिइने २० प्रतिशत छुटको व्यवस्था आजबाट नपाइने



काठमाडौं । सरकारी स्वामित्वका साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको समयमा प्रदान गरेको २० प्रतिशत छुटको व्यवस्था आजबाट हटाएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट घोषणामा साल्ट ट्रेडिङ र खाद्य कम्पनीमार्फत् बिक्री गर्ने ग्यास र खाद्यान्नमा छुटको व्यवस्था गर्ने जनाएको थियो ।

सोही अनुसार साल्ट ट्रेडिङ र खाद्य कम्पनीले जेठ २० गतेबाट ग्यास र खाद्यान्नमा २० प्रतिशत छुटको व्यवस्था गरेको थियो । जसमा चामल, पिठो, दाल, नून, खाने तेल, चिनी र ग्यासको बिक्रीमा छुटको व्यवस्था गरेको थियो ।

त्यस्तै हाल सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो गरेको हुनाले छुटको व्यवस्था हटाएको साल्ट ट्रेडिङ र खाद्य कम्पनीले जनाएको छ ।

सरकारले लागू गरेको छुटको व्यवस्थाले सर्वसाधारणहरूले सुपथ मूल्यमा ग्यास तथा खाद्यान्न उपभोग गर्न पाएका थिए । तर, आजबाट भने सो व्यवस्था हटाएको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए ।

उनका अनुसार सरकारले २० प्रतिशत छुटको व्यवस्था हटाउन निर्देशन आएसँगै सोही अनुसार आजबाट सम्पूर्ण आउटलेटको २० प्रतिशत छुटको व्यवस्था हटाएको बताए ।

तर, भीडभाड बढेको भन्दै साल्ट ट्रेडिङले बिक्री गर्ने समय अवधि घटाएकोमा आजबाट भने ७ बजेदेखि ११ बजेसम्म बिक्री खुल्ला गरेको उनले जानकारी दिए ।

साथै, सवारी साधन तथा पास भएको व्यक्ति जुनसुकै समयमा आए पनि बेलुका ६ बजेसम्म सेवा दिने भएको उनको भनाइ छ । साल्ट ट्रेडिङ निषेधाज्ञाको समयमा आफ्नो बिक्री कक्ष र घुम्ती सेवा प्रदान गरेको थियो । उक्त बिक्री कक्ष र घुम्ती सेवाबाट निषेधाज्ञादेखि हालसम्ममा ३ करोड बढीको खाद्यान्न बिक्री गरेको उनले बताए ।

त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आजबाट २० प्रतिशत छुटको व्यवस्था हटाएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।


क्लिकमान्डु