चर्को हवाई भाडा लिएको गुनासो आएपछि पर्यटन मन्त्रालयद्वारा छानविन समिति गठन
काठमाडौं । विभिन्न ट्राभल एजेन्सी कम्पनीहरुले चर्को हवाई भाडा असुल गरिरहेको गुनासो आएपछि सोबारे छानबिन गर्नका लागि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।
मन्त्रालयका अनुसार समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्ण, मन्त्रालयका उपसचिव नरहरि घिमिरे, प्रहरी इन्स्पेक्टर र पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल सदस्य छन् ।
गत वैशाख १९ गते मन्त्रिपरिषदको निर्णय अनुसार सीमित अन्तर्राष्ट्रिय उडान भइरहेको अवस्थामा केही ट्राभल एजेन्सीहरुले तोकिएको भन्दा अत्यधिक भाडा असुल गरिरहेको गुनासो आएपछि छानबिन समिति गठन गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
उनका अनुसार वैदेशिक रोजगारीमा विभिन्न देशमा जाने यात्रुसँग कम्पनीहरुले बढी भाडा असुल गरिरहेको गुनासोका आधारमा समिति गठन गरिएको हो ।