सेयर बजार ओरालो लागेपछि अर्थमन्त्रीले देखाए चासो, बोर्ड अध्यक्ष ढुंगानासँग गरे छलफल



काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले लगातार सेयर बजार ओरालो लागेपछि चासो व्यक्त गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले ५१ वटा सूचीकृत कम्पनीमा गरिएको लगानी जोखिमपूर्ण हुने भन्दै सूची सार्वजनिक गरेपछि बजार लगातार ओरालो लागेको छ ।

बोर्डले सेयर मूल्यमा चलखेल तथा कर्नरिङ भएको आशंकामा ती कम्पनीहरुको सूची सार्वजनिक गरेको थियो । त्यसपछि विभिन्न लगानीकर्ताका संघले विज्ञप्ति नै जारी गरेर असन्तुष्टी जनाइरहेका छन् ।

यसरी बजार लगातार घट्नु र सरोकारवालाहरुले समेत बोर्डले गरेको निर्णयलाई विरोध गर्दा अर्थमन्त्रीले यस विषयमा सोमबार धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग छलफल गरेका हुन् ।

बोर्डको आवश्यक कामले मन्त्रालय जाँदा मन्त्री पौडेलसँग सामान्य भेटभाटमा सेयर बजारको अहिलेको अवस्था र बोर्डको निर्णयबारे छलफल भएको अध्यक्ष ढुंगानाले बताए ।

‘अन्य कामको शिलशिलामै मन्त्रालय गएको बेला मन्त्रीज्यूसँग भेट भएको हो, त्यही समयमा उहाँले ५१ वटा कम्पनीको बारेमा र सेयर बजारको अहिलेको अवस्थाबारे सोध्नु भएको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘सो विषयमा बोर्डले गरेको अध्ययन प्रतिवेदन यसअघि नै मन्त्रालय पठाइसकिएको थियो तर पनि उहाँले चासो राख्नु भएपछि ५१ वटा कम्पनीहरुको सूचिकरणबारे उहाँलाई जानकारी गराएको थिए ।’

बोर्डले छोटो समयमै अस्वाभिक रुपमा मूल्य बढेका भएका कम्पनीलाई छनौट गरी अध्ययनको आधार बनाइ सोमा लगानी गर्दा आउने प्रतिफलको आधारहरु प्रष्ट पारेको उनले बताए ।

‘यी कम्पनीहरुमा लगानी गर्दा लगानी कतिको फाइदामा वा जोखिममा छ, त्यसको प्यारामिटरहरुबारे हामीले प्रष्ट्याएको मात्रै हो,’ उनले थपे, ‘लगानीकर्ताले यसलाई नै आधार बनाएर जोखिमयुक्त भनेर बजारमा सेयर खरिद बिक्री गर्दा बजार घटेको हो, यसमा बोर्डले लगानी गर्नु वा नगर्नु भनेर कतै पनि भनेको छैन भने बोर्डको अध्ययन समेत पूरा भएको छैन ।’

बोर्ड ती ५१ वटा कम्पनीमा लगानी गर्दा आउने प्रतिफलको आधारहरु देखाउँदा बजारमा परेको प्रभावबारे अर्थमन्त्रीले चासो राखेको उनले जानकारी दिए । बोर्ड चाडै नेप्सेमा सूचीकृत सबै कम्पनी लगानी वित्तीय प्यारामिटरसहित सूची सार्वजनिक गर्ने तयारी गरेको उनले बताए ।


क्लिकमान्डु