मंगलबारदेखि देशभरका मालपोत कार्यालयबाट घर जग्गाको कारोबार गर्न पाइने



काठमाडौं । भोलि (मंगलबार) देखि देशभरका भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाह गर्ने भएको छ ।

कोरोना भाइरस महामारीका कारण गत वैशाख १६ गतेबाट विभिन्न स्थानीय तहमा लागू भएको निषेधाज्ञाले गर्दा सेवा प्रवाह बन्द भएको मालपोत कार्यालयले पुनः भोलिबाट सेवा प्रवाह गर्ने भएको हो ।

भूमि, व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कोरोनाले गर्दा देशभरका स्थानीय तहमा भएको जोखिम अनुसार सेवा प्रवाह बन्द भएको मालपोत कार्यालयले भोलिबाट सेवा प्रवाह गर्ने निर्णय भएको बताए । उनका अनुसार भोलिबाट स्थानीय तहको आलो पालोको आधारमा मालपोत कार्यालयले सर्वसाधारणलाई सेवा प्रवाह गर्ने निर्णय भएको बताए ।

‘भोलिबाट देशभरका अधिकांश मालपोत कार्यालय खुल्छन् । विभागले जेठ महिनाको अन्तिममा नै सुचना पठाएका थियौं । उक्त सुचनामा विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा मालपोत कार्यालय सञ्चालन ल्याउन सक्ने सूचना पठाइसकेका छौं,’ उनले भने

उपत्यकाको हकमा सबै मालपोत कार्यालयबाट स्थानीय तह अनुसार आलो–पालोमा सेवा प्रवाह हुने उनले जानकारी दिए ।

‘कुनै पनि मालपोत कार्यालयमा कति स्थानीय तह छन् । त्यसको आधारमा हप्ता भरिनै स्थानीय तहलाई आलोपालोमा सेवा प्रवाह दिने छौं,’ उनले भने, ‘सबै स्थानीय तहको लागि सेवा प्रवाह खुल्ला गर्दा मानिसको भीड बढ्ने भएकाले बार अनुसार स्थानीय तहमा सेवा प्रवाह गर्ने भएको छ ।’

त्यसैगरी, उपत्यका बाहिरको हकमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा मालपोत कार्यालयमा सञ्चालन गर्न सक्ने निर्णय भएको उनले बताए । कतिपय जिल्लामा कोरोनाको तीब्र संक्रमणको अवस्था रहेमा नखोल्ने निर्णय भएकाले संक्रमणको जोखिम कम भएको स्थानीय तहमा आंशिक रुपमा आलोपालोले सेवा प्रवाह दिने भएको छ । जसमा सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवा प्रवाह दिने भएको हो ।

सरकारले उपत्यकाको हकमा निषेधाज्ञा लागू गरे पनि देशभरका विभिन्न जिल्ला तथा स्थानीय तहमा फरक–फरक समयमा निषेधाज्ञा भएको थियो । साथै, कोभिडको कम जोखिम भएको स्थानीय तहमा निषेधाज्ञाको समयमा पनि सेवा प्रवाह भएको थियो ।

सोही अनुसार कोरोनाको जोखिम अनुसार जिल्ला प्रशासन कार्यालयको निर्णय बमोजिम सेवा प्रवाह गर्ने भएको विभागले जनाएको छ ।


क्लिकमान्डु