१० महिनामा ७ लाख करदाता थपिए, स्थायी लेखा नम्बर लिनेको संख्या ४० लाख नाघ्यो
काठमाडौं । चालु आर्थिक २०७७/७८ को १० महिना अवधिमा ७ लाख ६ हजार बढी करदाता थपिएका छन् ।
आन्तरिक राजस्व विभागकाअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ४० लाख ४३ हजार ७ सय ९४ पुगेको छ । गतवर्ष असारसम्ममा यस्तो संख्या ३३ लाख ३७ हजार ५ सय बराबर थिए ।
हालसम्म दर्ता भएका कुल करदातामध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार अर्थात ३९.४ प्रतिशत बराबर छ । यो १० महिना अवधिमा २ लाख २३ हजार बढी करदाता थपिएको विभागको तथ्यांकबाट देखिन्छ ।
गतवर्ष असारसम्ममा १९ लाख ७३ हजार ४५२ जनाले व्यक्तिगत पानकार्ड लिएकोमा १० महिना अवधिमा थप ४ लाख ६८ हजारले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । हाल व्यक्तिगत करदाताको संख्या २४ लाख ४१ हजार ५ सय ८४ अर्थात कुल करदाताको ६०.४ प्रतिशत रहेको छ ।
यो अवधिमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ९ हजार १ सय ३४ रहेको छ ।
त्यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८८ हजार ७ सय रअन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ४ सय ९१ छ ।
गतवर्ष असारयता मूल्य अभिवृद्धि करमा ३२ हजार ७४५ जना व्यवसायिक करदाता थपिएका छन् भने अन्तःशुल्कतर्फ १७ हजार २ सय करदाता थपिएका छन्