११ महिनाको अवधिमा २ करोड जरिवाना, साढे ३ करोड बढी मूल्यको खाद्यान्न नष्ट



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोेक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ऐन विपरीत कारोबार गर्ने व्यवसायीलाई २ करोड बढी जरिवाना गरेको छ ।

विभागले चालु आवको साउन महिनादेखि जेठ मसान्तसम्ममा उपभोक्ता संरक्षण ऐन विपरीत कारोबारमा संलग्न भएका ९ सय ९० व्यवसायीलाई २ करोड २८ लाख ८७ जरिवाना गरेको हो ।

हालसम्ममा विभागले २८ सय २४ वटा व्यापारिक फर्मलाई अनुगमन गरेको जनाएको छ । उक्त अनुगमन गरेकोमध्ये ३५ वटा फर्मलाई उपभोक्ता संरक्षण ऐन विपरीत कारोबार गरको भन्दै कारेबार रोक्का गरेको छ ।

त्यसैगरी विभागले ३ करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्यान्न तथा वस्तु नष्ट गरेको छ । साथै, अन्य १ हजार ६६ वटा फर्मलाई कारबाहीको दायरमा ल्याएको विभागको तथ्याङ्कले देखाउँदछ ।

वाणिज्य विभागको हालसम्ममा देशभर ५ वटा शाखा रहेको छ । जसमा मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलाली शाखाबाट बजार अनुगमन हुने गर्दछ । उक्त शाखाहरूबाट चालु आवको साउनदेखि जेठसम्ममा १६ सय ९ वटा फर्ममा अनुगमन छ ।

शाखाहरूले अनुगमन गरेकोमध्ये २ सय ६९ वटा फर्मलाई ऐन विपरित कारोबार गरेकाले ७४ लाख ४६ हजार ५ सय जरिवाना गरेको विभागको तथ्याङ्क देखाउँदछ । साथै, देशभर रहेका शाखाहरूले अनुगमन गरेकोमध्ये ११ वटा फर्मको रोक्का तथा शिलबन्दी गरेको विभागले जनाएको छ ।

कुन कार्यालय कति अनुगमन ?
विभागका अनुसार उपत्यका बाहिरको शाखामध्ये सबैभन्दा बढी पर्सा जिल्लाका व्यवसायी कारबाहीमा परेका छन् । उक्त कार्यालयबाट चालु आवको जेठ मसान्तसम्ममा ३ सय ५३ व्यवसायी तथा फर्ममा अनुगमन गर्दा १ सय ४४ जना फर्मलाई जरिवाना गरेका छन् ।

सो कारबाहीमा परेका व्यवसायीलाई पर्सा कार्यालयले ४३ लाख ६३ हजार जरिवाना गरेको छ भने १ लाख २६ हजार रुपैयाँ बराबरको खाना अयोग्य र म्याद सकिएको खाद्यान्न तथा वस्तु नष्ट गर्न लगाएको विभागले जनाएको छ ।

मोरङ कार्यालयले चालु आवमा १ सय १२ वटा फर्म अनुगमन गर्दा ७० वटा व्यवसायी तथा फर्मलाई जरिवाना गरी कारबाहीको दायरमा ल्याएको छ ।

कार्यालयले अनुगमन गरेकोबाट १५ लाख ८५ हजार रुपैयाँ ऐन विपरित कारोबार गरेको व्यवसायीलाई गरेको छ । साथै, २९ हजार मूल्य बराबरको अयोग्य खाद्यान्न बिक्रीमा राखेको भन्दै नष्ट गरेको विभागको भनाइ छ ।

रुपन्देही कार्यालयबाट हालसम्ममा १ सय ६८ फर्म तथा उद्योग अनुगमन गर्दा १२ वटालाई जरिवाना गरेको छ । जसमा कार्यालयले १ लाख ४० हजार ऐन विपरीत कारोबारमा संलग्न व्यक्तिलाई जरिवाना गरेको छ भने १ लाख ६६ हजार मूल्य बराबरको खाद्यान्न नष्ट गरेको विभागले जनाएको छ ।

त्यसैगरी बाँके कार्यालयले ५ सय ५ फर्म तथा कम्पनीमा अनुगमन गर्दा २२ व्यवसायीलाई ३ लाख ८३ हजार जरिवाना गरेको छ । कार्यालयले ११ लाख ६४ हजार मूल्य बराबरको अयोग्य तथा म्याद सकेको खाद्यान्न तथा वस्तु नष्ट गरेको विभागले उल्लेख गरेको छ । साथै, कार्यालयले ९ वटा फर्मको कारोबार रोक्का गरेको छ ।

कैलाली कार्यालयले ४ सय ७१ बजार अनुमान गर्दा ५१ वटा व्यवसायीलाई जरिवाना गरेको छ भने २ वटाको कारोबार रोक्का गरेको विभागले जनाएको छ । कार्यालयले उक्त व्यवसायीलाई ९ लाख ७५ हजार रुपैयाँ जरिवाना गर्नुका साथै २ लाख ७७ हजार मूल्य बराबरको अयोग्य खाद्यान्न र वस्तु नष्ट गरेको विभागले उल्लेख गरेको छ ।

निषेधाज्ञामा ९७ फर्म कारबाही
विभागले सरकारले लागू गरेको निषेधाज्ञामा पनि अनुगमनलाई निरन्तरता दिएको पाइन्छ । निषेधाज्ञाको समयमा विभागले २ सय ३ वटा व्यापारिक फर्मलाई अनुगमन गर्दा ९७ वटा फर्मलाई जरिवाना गरेको छ । साथै, एक फर्मको भने कारोबार रोक्का गरेको विभागले जनाएको छ ।

विभागले ९७ वटा व्यापारिक फर्मलार्य १३ लाख ९६ हजार जरिवाना गरेको छ भने ३० हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्यान्न तथा वस्तु नष्ट गरेको छ । विभागले अवधिभर विशेषगरी खाद्यान्न र स्वास्थलाई प्र्राथकितामा राखेर अनुगमन गरेको विभागको प्रवक्ता शिवराज सेढाइ बताउँछन् ।


क्लिकमान्डु