केराउको भन्सार चोरी पैठारी गर्ने २ जनाविरुद्ध राजस्व अनुसन्धानद्वारा मुद्दा दायर
काठमाडौं । भन्सार चोरी पैठारी गरी केराउको अवैध कारोबार गर्ने २ जना व्यापारीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
भन्सार चोरी पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा विभागले प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिका संचालकहरु काठमाडौं थापाथलीका विज्ञानजंग राणा र वेदान्तजंग राणाविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध १ करोड २ लाख ६० हजार रुपैयाँ बराबर बिगो कायम गर्दै सोमबार उच्च अदालत जनकपुरमा मुद्दा दर्ता भएको विभागले जनाएको छ ।
प्रिज्म एग्रो कमोडिटिजका संचालकहरुले भन्सार चोरी पैठारी गरी केराउ भारततर्फ निकासी गर्ने गरेको तथ्य भेटिएको थियो ।
गतवर्ष असोजमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले प्रिज्म एग्रो कमोडिटिजको इनरुवास्थित गोदाममा छापा हानी ६ हजार ५ सय बोरा भन्दा बढी केराउ बरामद गरेको थियो ।
भारततर्फ चोरी निकासी गर्न लागेको अवस्थामा बीरगंज भन्सारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट बरामद भएको उक्त केराउसँगै संचालक बेदान्तजंग राणा पनि पक्राउ परेका थिए ।