५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइयो: धितोपत्र बोर्ड



काठमाडौं । सेयर बजारमा ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभिक मूल्य वृद्धि गरिएको भेटिएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा अप्राकृतिक वृद्धि गराई कारोबार भएको नेपाल धितोपत्र बोर्डले निष्कर्ष निकालेको हो ।

पछिल्लो समय केही कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि भएपछि सेयर कर्नरिङको आशंकामा धितोपत्र बोर्ड कमिटी नै गठन गरी अध्ययन शुरु गरेको थियो । जसको पहिलो चरणको अध्ययन सकिएको र अध्ययन प्रतिवेदन अर्थमन्त्रालय पेश गरिएको बोर्डका उप-कार्यकारी निर्देशक डा. नवराज अधिकारीले बताए ।

‘लामो समय अगाडिदेखि जेठ २७ गतेसम्मको नेप्सेमा कारोबार हुने कम्पनीहरुको विस्तृत अध्ययन गरिएको थियो,’ उनले क्लिकमाण्डूलाई भने, ‘यसमा ५१ वटा कम्पनीको कारोबार, मूल्य लगायत अप्राकृतिक तथा अस्वाभिक देखिएको छ, जसमा हाइड्रो पावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको परेका छन् ।’

विगत केही वर्ष अघिदेखि राम्रो वित्तीय विवरण नभएका तथा विवरण नै प्रकाशित नगरेका कम्पनीहरुको कम्पनीहरु बोर्डले सूचीकृत गरी अन्य विवरण सहित अर्थ मन्त्रालय प्रतिवेदन पेश गरिएको उनले जानकारी दिए ।

‘यस्ता कम्पनीहरुको सेयरमा माग र मूल्यमा बढ्नु भनेको कतै स्वाभिक होइन, यसको छानबिन भइरहेको छ,’ उनले भने, ‘यो पहिलो चरणको अध्ययनले देखाएको विषय मात्र हो, थप अध्ययन जारी छ, कारवाहीको पक्ष पूर्णरुपमा अध्ययन सकिएपछि हुन्छ ।’

बोर्डले ती कम्पनीहरुको अप्राकृतिक कारोबार र मूल्य वृद्धि के कारणले र कसले गराएको हो छानबिन गरिरहेको र सो कम्पनीहरुको नामावली सार्वजनिक गर्ने तयारी समेत गरेको उनले जानकारी दिए ।


पुष्प दुलाल