निषेधाज्ञाको डेढ महिनामै बैंकहरुमा ५९ अर्ब निक्षेप संकलन हुँदा ४९ अर्ब कर्जा प्रवाह



काठमाडौं । निषेधाज्ञाबीचको डेढ महिनामा बैंकहरुले ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत बैशाख १६ गतेदेखि उपत्यकालगायत विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी छ । यसबीच अर्थात् बैशाख १७ गतेदेखि जेठ २८ गतेसम्म वाणिज्य बैंकहरुले ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांक अनुसार बैशाख १७ गतेसम्म बैंकहरुले ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन जेठ २८ गतेसम्म आइपुग्दा ४९ अर्ब रुपैयाँ थप भएर ३६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।

जेठ महिनामा मात्र भने बैंकहरुले २६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत बैशाख मसान्तमा बैंकहरुले ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरका थिए ।

निषेधाज्ञामा अन्य क्षेत्रको व्यपार बन्द भएपनि आयात नरोकिएको हुँदा बैंकहरुबाट आयात कर्जा गएको बैंकरहरुको भनाइ छ । तर यसबीच आम्दानीभन्दा खर्च बढी हुँदा बैंकहरुमा निक्षेप उल्लेख्य बढ्न नसकेको देखिन्छ ।

निषेधाज्ञाको डेढ बैंकहरुमा ५९ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । गत बैशाख १७ गतेसम्म बैंकहरुमा ३९ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप थियो । जुन जेठ २८ गतेसम्म आइपुग्दा ३९ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । जेठको १ महिनामा भने बैंकहरुमा २६ अर्ब रुपैयाँ मात्र निक्षेप थप भएको छ । बैशाख मसान्तमा बैंकहरुमा ३९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।


क्लिकमान्डु