उच्च रकमको आयातले शोधानान्तर बचत ७ अर्बमा खुम्चियो



काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातमा अत्याधिक बचतमा रहेको शोधानान्तर वर्षको अन्त्यमा कम हुन थालेको छ ।

आयात बढ्न थालेको कारणले शोधानान्तर बचतको रकम घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार शोधानान्तर ७ अर्ब रुपैयाँले बचतमा रहेको छ । ९ महिनामा शोधानान्तर ४२ अर्ब ४५ करोड रुपैयाँले बचतमा थियो । एक महिनामा नै शोधानान्तर बचत ३५ अर्ब रुपैयाँले घटेको हो ।

चालु खाता घाटा २ खर्ब ४७ अर्बले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई १३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले कमी १४ अर्ब ८ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ४२ करोड रहेको थियो । द्दण्। समीक्षा अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु