चालु आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.६ प्रतिशत, जीडीपीको आकार ३ खर्ब ४४ अर्ब



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.६ प्रतिशत र कुल ग्राहस्थ उत्पादन (जिडिपी) को आकार ३ खर्ब ४४ अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेश सभामा विश्वासको मत लिँदै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने बताएका हुन् । कोभिड १९ महामारीका कारण उक्त प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष १.७ प्रतिशतले ऋणात्मक रहेको थियो ।

मुख्यमन्त्री गुरुङले विस्वासको मत लिनुअघि प्रदेश सभामा आफ्नो ३९ महिने कार्यकालमा भएका प्रगतिबारे जानकारी गराएका थिए ।

महामारीका बाबजुद पनि अहिले प्रदेशका समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको गुरुङको भनाइ छ ।

‘कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चालेका कदमका कारण चालु आर्थिक वर्षमा ३.६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको छ,’ गुरुङले प्रदेश सभामा भने, ‘यसवर्ष ३.४६ प्रतिशतको मुद्रास्फीति देखिएको छ । यो भनेको वाञ्छित सीमाभित्रै रहेको छ ।’

आर्थिक वर्ष २०७४/७५ मा उक्त प्रदेशमा निजी क्षेत्रको लगानी १ खर्ब ७६ अर्ब रहेकोमा चालु आर्थिक वर्षमा बढेर ३ खर्ब ९ अर्ब रुपैयाँ बराबर पुगेको पनि मुख्यमन्त्री गुरुङले बताए ।

त्यस्तै आफ्नो कार्यकालमा प्रदेश नीति तथा योजना आयोगको गठन गरि प्रदेशको समृद्धिका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन रणनीति तयार पारिएको उनले बताए ।


क्लिकमान्डु