निषेधाज्ञाबीच साढे ६ अर्ब बराबरको औषधीजन्य पदार्थ आयात, कुन वस्तु कति आयात ?



काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीका कारण गत वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञाबीच करिब साढे ६ अर्ब रुपैयाँ बराबरको औषधीजन्य पदार्थ आयात भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार सरकारले लागू गरेको निषेधाज्ञा गत वैशाख १६ गतेदेखि जेठ २३ गतेसम्ममा ६ अर्ब ४५ करोड २२ लाख ५८ हजार रुपैयाँ बराबरको औषधीजन्य पदार्थ आयात भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ४ अर्ब ९६ करोड १७ लाख रुपैयाँको तयारी औषधी आयात भएको छ भने १ अर्ब ४९ करोड ५ लाख रुपैयाँको औषधीको कच्चा पदार्थ आयात भएको पाइन्छ । साथै अन्य दैनिक उपभोग्य खाद्यान्न वस्तु तथा पेट्रोलियम पदार्थ उल्लेख्य रुपमा आयात भएको छ ।

कुन वस्तु कति आयात ?
निषेधाज्ञाकै बीचमा खाद्यान्न, दाल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, एलपीजी ग्यास, पेट्रोल उल्लेख्य रुपमा आयात भएको मन्त्रालयको विवरणले देखाउँदछ । जसमा गत वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञाको समयमा २ लाख ६७ हजार ४ सय ५ मेट्रिक टन खाद्यान्न आयात भएको छ ।

त्यस्तै, सोही अवधिमा २९ हजार ८ सय ४५ मेट्रिक टन दाल/गेडागुडी, ४६ हजार १ सय ४५ मेट्रिक टन तरकारी, ३१ ह्जार ४ सय ४ मेट्रिक टन फलफूल, २ सय २८ मेट्रिक टन दुग्धजन्य पदार्थ, ४६ हजार ९ सय ७८ मेट्रिक टन एलपीजी ग्यास, १ लाख ३२ हजार ४ सय ८ किलोलिटर डिजेर ४२ हजार ६ सय ६२ किलोलिटर पेट्रोल आयात भएको मन्त्रालयको तथ्याङ्कले उल्लेख गरेको छ ।

यस्तो छ मौज्दातको अवस्था
मन्त्रालयका अनुसार दैनिक उपभोग्य खाद्यान्न तथा वस्तु पर्याप्त मात्रामा मौज्दात रहेको जनाएको छ । मन्त्रालयका अनुसार सरकारी निकायको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २ लाख ६९ हजार ९५ क्विन्टल खाद्यान्न मौज्दात रहेको रहेको छ ।

त्यसमा सुगम जिल्लाहरूमा ७६ हजार ४ सय ७१ र २४ दुर्गम जिल्लाहरूमा ३२ हजार ६ सय ९८ क्विन्टल चामल मौज्दात रहेको छ । साथै, भान १ लाख ४७ हजार ८ सय ४७ धान र १२ हजार ७९ क्विन्टल गहुँ मौज्दात रहेको मन्त्रालयको भनाइ छ ।

त्यसैगरी, सो अवधिमा खाद्य कम्पनीको विभिन्न बिक्री कक्ष तथा कार्यालयबाट १ लाख ९० हजार ३३ क्विन्टल खाद्यान्न बिक्री भएको छ र जसमा सुगम जिल्लाहरूमा ८१ ह्जार ३ सय ६ क्विन्टल र २४ जिल्लाहरूमा १ लाख ९ हजार ४ सय २७ क्विन्टल खाद्यान्न बिक्री भएको मन्त्रालयले उल्लेख गरेको छ ।

साथै, साल्ट ट्रेडिङ कर्पोरेशनसँग आयोडिनयुक्त नुन १ लाख ५३ हजार ९ सय ६४ मेट्रिक टन मौज्दात रहेकाले आपूर्तिमा कुनै समस्या नरहेको मन्त्रालयको भनाइ छ ।

त्यस्तै , कर्पोरेशनसँग ६ सय ९९ मेट्रिक टन चिनी मौज्दात रहेको छ भने निजी क्षेत्रसँग २१ हजार ५७ मेट्रिक टन चिनी मौज्दात रहेको छ । यस्तै, पेट्रोलियम पदार्थमा हाल निगमसँग ४७ हजार ३ सय ८५ किलोलिटर पेट्रोलियम पदार्थ ९पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन० मौज्दात रहेको छ ।

जसमा जेठ १ गतेदेखि २३ सम्ममा १९ हजार ३ सय ३२ किलोलिटर पेट्रोल, ९० हजार ४ सय ७९ किलोलिटर डिजेल, १२ सय ९२ किलोलिटर मट्टीतेल, १ सय ५२ किलोलिटर हवाई इन्धन र १५ हजार ६ सय २४ मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।

यसैगरी सोही अवधिमा १९ हजार ३ सय ८२ किलोलिटर पेट्रोल, ९० हजार ४ सय ३४ किलोलिटर डिजेल, ११ सय ९ किलोेलिटर मट्टीतेल, ११ सय ४ किलोलिटर हवाई इन्धन र १५ हजार ६ सय २४ मेट्रिक टन एलपी ग्यास बिक्री भएको छ ।

१२ हजार बढी मालबाहक ट्रक उपत्यका प्रवेश
मन्त्रालयका अनुसार सरकारले लागू गरेको निषेधाज्ञाले उपत्यकामा मालबाहक ट्रक प्रवेशमा कुनै असहज स्थिति नरहेको जनाएको छ । सो अवधिमा विभिन्न खाद्यान्न ढुवानी गर्ने १२ हजार ५ सय ५० मालबाहक ट्रक उपत्यका प्रवेश गरेको छ ।

जसमा धान ढुवानी गर्ने ७ सय ८०, चामल ढुवानी गर्ने १ हजार ८५ वटा मालबाहक ट्रकलगायत अन्य विभिन्न खाद्यान्न, मासुजन्य पदार्थ र दुधजन्य पदार्थ ढुवानी गर्ने मालबाहक ट्रक उल्लेख्य रुपमा भित्रिएको छ ।


क्लिकमान्डु