निषेधाज्ञापछि मदिराको व्यापार घट्दा अन्तःशुल्क कर असुलीमा दबाब



काठमाडौं । गत आर्थिक वर्षजस्तै चालु आर्थिक वर्ष पनि अन्तःशुल्कतर्फको राजस्व असुली लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएको छ ।

अन्तःशुल्क राजस्वको ठूलो हिस्सा आगेट्ने मदिरा क्षेत्रको व्यापारमा कोभिड १९ महामारीको असर देखिएपछि लक्ष्यअनुसार कर संकलन गर्न कठिन हुने देखिएको हो ।

आन्तरिक राजस्व विभागको तथ्यांक हेर्दा पछिल्लो एक दशक अवधिमा आन्तरिक राजस्वतर्फ अन्तःशुल्क करको असुली वर्षेनी बढ्दोक्रममा देखिन्छ । तर, गत आर्थिक वर्ष भने अघिल्लो आर्थिक वर्षको तुलनामा अन्तःशुल्क राजस्व करिब ९ अर्ब रुपैयाँ कम संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ७३ अर्ब ६१ करोड रुपैयाँ बराबर अन्तःशुल्क उठेकोमा गत आर्थिक वर्ष त्यो घटेर ६४ अर्ब ८४ करोड रुपैयाँमा खुम्चियो ।

त्यसको कारण थियो, गतवर्ष चैत ११ गतेदेखि सरकारले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरेपछि मदिरा र बियरको बिक्री घट्नु । अन्तःशुल्क असुलीमा मदिरा र बियरले मात्र ४५ देखि ५० प्रतिशत योगदान गर्छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा पनि गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएपछि मदिरा र बियरको व्यापार घटेको छ । यी वस्तुको व्यापार घटेसँगै राजस्व असुलीमा पनि त्यसको प्रभाव देखिएको छ ।

आन्तरिक राजस्व विभागको जेठ २३ गतेसम्मको राजस्व असुली अवस्था हेर्दा वार्षिक लक्ष्यमा अन्तःशुल्कको असुली सबैभन्दा कम देखिन्छ ।

आयकर ९४.२१ प्रतिशत र मूल्य अभिवृद्धि कर १०२.३७ प्रतिशत असुली हुँदा अन्तःशुल्क भने ८१.०९ प्रतिशत मात्रै संकलन भएको छ ।

विभागले चालु आर्थिक वर्षका लागि अन्तःशुल्कतर्फ ९० अर्ब ३३ करोड ४१ लाख रुपैयाँ बराबरको असुली लक्ष्य राखेकोमा ८१ प्रतिशत अर्थात ७३ अर्ब २५ करोड ३३ लाख रुपैयाँ बराबर मात्रै उठेको छ । विभागले जेठ महिनामा मात्र १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको असुली लक्ष्य राखेकोमा २८ प्रतिशत अर्थात ३ अर्ब ६८ करोड रुपैयाँ बराबर मात्रै उठेको छ ।

आन्तरिक राजस्व विभागकाअनुसार अन्तःशुल्क राजस्वमा सबैभन्दा बढी योगदान मदिरा र बियरको रहन्छ । गत आर्थिक वर्ष अन्तःशुल्कतर्फको कुल राजस्व संकलनमा मदिराको करिब ३१ प्रतिशत, बियरको २२.८६ प्रतिशत, सूर्तीजन्य वस्तुको २८.६१ प्रतिशत र अन्य औद्योगिक उत्पादनको १७.६१ प्रतिशत मात्रै योगदान रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७६÷७७ मा आन्तरिक तर्फको अन्तःशुल्क राजस्व संकलन चुरोट/बिँडीमा १८ अर्ब ५५ करोड, मदिरामा २० अर्ब ५ करोड, बियरमा १४ अर्ब ८२ करोड र अन्य औद्योगिक उत्पादनमा ११ अर्ब ४२ करोड रुपैयाँ बराबर मात्रै थियो ।

पछिल्लो १० वर्षमा अन्तःशुल्कतर्फको राजस्व असुली करिब ४ गुणाको बढेको देखिन्छ । यस्तो राजस्व असुली आर्थिक वर्ष २०६७/६८ मा १५ अर्ब ६८ करोड रुपैयाँ बराबर मात्रै रहेकोमा अघिल्लो आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा ७३ अर्ब ६१ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको देखिन्छ ।

यद्यपि, अन्तःशुल्क भने घटेको देखिन्छ । यसको मुख्य कारण कोभिड १९ महामारीका कारणले अर्थतन्त्रमा पर्न गरेको प्रभाव रहेको राजस्व विभागको वार्षिक प्रगती प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु