अमेरिकी अर्बपतिले तिर्दैनन् कर



एजेन्सी । बढ्दो असमानका कारण संसारभर नै धनी र गरिबबीचको खाडल बढ्दै गएको छ । यही सन्दर्भमा एउटा अविश्वसनीय खबर सार्वजनिक भएको छ । अमेरिकी धनाढ्यहरूको आयकर विवरण सार्वजनिक भएको छ । त्यसमा कसले कति कर तिर्छन् भन्ने उल्लेख छ ।

विवरण अनुसार जेफ बेजोसले सन् २००७ र २०११ मा एक पैसा पनि कर नतिरेको एक वेबसाइटमा दाबी गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी खर्बपतिहरूको कति कर तिर्छन् भन्ने दस्ताबेजको विवरण फेला पारेको र त्यो सत्यको नजिक रहेको बताइएको छ ।

प्रोपब्लिका नामक समाचार साइटले जेफ बेजोस, एलन मस्क र वारेन बफेटसहित विश्वका सबैभन्दा धनी व्यक्तिहरूको कर चुक्ता दस्ताबेज देखेको बताएको छ ।

वेबसाइटका अनुसार बेजोसले सन् २००७ र २०११ मा एक पैसा पनि कर तिरेनन् भने टेस्लाका मस्कले सन् २०१८ मा कुनै कर नतिरेको पाइएको छ ।

अमेरिकी ह्वाइट हाउसका एक प्रवक्ताले दस्ताबेज बाहिरिनुलाई गैरकानुनी भनेका छन् भने एफबीआई र कर निकायले अनुसन्धान सुरु गरेको दावी गरेको छ ।

प्रोपब्लिकाले खर्बपतिहरूको करसम्बन्धी ठूलो तथ्यांक विश्लेषण गर्दै गरेको र यसबारे थप विवरण आगामी साताहरूमा प्रकाशित गर्ने पनि बताएको छ । बीबीसीले ती दावीहरू पुष्टि गर्न नसकेको जनाएको छ । प्रोपब्लिकाको समाचार अमेरिकामा धनीहरूले तिर्ने करको बारेमा भइरहेको वादविवादका बीच आएको हो ।

प्रोपब्लिकाका अनुसार अमेरिकाका सबैभन्दा धनी २५ जनाले तिर्ने औसत १५.८ प्रतिशत कुल आयकर धेरै अमेरिकी मूलधार कामदारले तिर्ने करको औसत प्रतिशतभन्दा धेरै कम रहेको छ ।

वेबसाइटका अनुसार गएका केही वर्षमा सम्पत्तिमा उल्लेख्य वृद्धि भए पनि कानुनी रणनीतिहरू प्रयोग गरेर धेरै धनाढ्यहरूले आयकरबापत शून्य वा सो बराबर खुम्चाउन सकेको पाइएको छ ।

उनीहरूले अन्य नागरिकले जस्तै चन्दा दिएर र तलबबाट भन्दा पनि लगानीबाट पैसा कमाएको देखाएर आफ्नो आयकर कम गर्न सकेको भन्दै उक्त समाचार साइटको विवरण उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रोपब्लिकाले फोर्ब्स पत्रिकाको तथ्यांक प्रयोग गरेर सन् २०१४ देखि सन् २०१८ मा अमेरिकाका धनाढ्य २५ व्यक्तिको कुल सम्पत्तिमा ४ खर्ब डलर वृद्धि भएको भए पनि उनीहरूले जम्मा साढे १३ अर्ब डलर आयकर तिरेको बताएको छ ।

राष्ट्रपति जो बाइडनले समानता बढाउन र आफ्नो विशाल पूर्वाधार विकासको योजनाका लागि पैसा उठाउन धनी अमेरिकीहरूको करको दायरा बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले करको उच्च दर वृद्धि गर्ने, लगानीबाट हुने आम्दानीको कर दोबर गर्न र पैतृक सम्पतिको कर फेर्ने बताएका छन्। तर प्रोपब्लिकाले यी परिवर्तन गर्दा पनि केही बाहेक धेरै धनाढ्यले तिर्ने करमा खासै परिवर्तन नहुने बताएको छ ।

प्रोपब्लिकाले अर्का खर्बपति जर्ज सोरसले पनि कमै कर तिर्ने बताएको छ । उनको कार्यालयले बीबीसीलाई प्रतिक्रिया नदिए पनि एक विज्ञप्ति जारी गरी केही वर्ष लगानीमा घाटा भएका कारण सोरसले कर तिर्नु नपरेको समाचारमा जनाइएको छ ।

सो विज्ञप्तिमा उनले लामो समयदेखि अमेरिकाका धनी व्यक्तिहरूलाई उच्च कर हुनुपर्ने कुराको समर्थन गरेको पनि बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार न्यूयोर्कका पूर्वमेयर माइकल ब्लूमबर्गले सो खुलासाले व्यक्तिगत गोपनीयताको प्रश्न उठाएको र कानूनी बाटोबाट सो समाचारको स्रोत खोज्न प्रयास गर्ने बताएका छन् ।

प्रोपब्लिकाले अमेरिकी कर निकायलाई दिइएको कम बजेटका कारण कर नियमहरू कडाइका साथ पालना गराउने कार्यालयको क्षमतामा कमी आएको समाचारहरू प्रकाशित गरेको थियो । सोही समाचारको प्रतिक्रियास्वरूप ती दस्ताबेज प्राप्त भएको जनाएको छ ।बीबीसी


क्लिकमान्डु