असार १ गतेदेखि आन्तरिक उडान शुरु गर्न वायुसेवा सञ्चालक संघको आग्रह



काठमाडौं । वायुसेवा सञ्चालक संघले असार १ गतेदेखि आन्तरिक हवाई उडान शुरु गर्न सरकार समक्ष अनुरोध गरेको छ ।

संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा पनि यात्राका लागि सुरक्षित मानिएको हवाई उडान शुरु गर्न सरकार समक्ष आग्रह गरेको छ ।

कोरोना महामारीको पहिलो लहरमा १८० दिन र दोस्रो लहरमा ४० दिनसम्मको हवाई उडान बन्दले यस क्षेत्रमा ठूलो असर पारेको भन्दै उडान शुरु गर्न आग्रह गरेको हो ।

संघले निषेधाज्ञाभर ल्यान्डिङ पार्किङ र अन्य शुल्कमा समेत ७५ प्रतिशतसम्म छुट गर्न समेत माग गरेको छ । साथै सरकारले हालै अन्तर्राष्ट्रिय हवाई उडानतर्फ इन्धनको मूल्य घटाएको भन्दै आन्तरिक हवाई उडानका लागि न्यून मुनाफा राखी इन्धनको मूल्य घटाउन समेत माग गरेको छ ।

यसले गर्दा सञ्चालन खर्च घट्ने र यात्रुहरुले पनि सस्तो सर्वसुलभ दरमा टिकट पाउने संघको भनाइ छ ।


क्लिकमान्डु