नेपाल एयरलाइन्सले कार्गो चार्टर्डको भाडा घटायो, अब कति ?



काठमाडौं । नेपाल एयरलाइन्सले कार्गो चार्टर्ड विमानको भाडा कटौती गरेको छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशतले कटौती गरेसँगै नेपाल एयरलाइन्सले पनि आजैदेखि लागू हुने गरी मूल्य कटौती गरेको हो ।

आयल निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटरमा १७८ डलरले कटौती गरेपछि नेपाल एयरलाइन्सले पनि कार्गो चार्टर्ड विमानको मूल्य कटौती गरेको हो ।

नेपाल एयरलाइन्सका अनुसार वाइड बडीको भाडा १३ प्रतिशत र न्यारो बडी विमानको भाडा १५ प्रतिशतले कटौती गरेको हो ।

जसअनुसार वाइड बडी विमानको भाडा यसअघि कायम रहेको प्रतिघण्टा १५ हजार ५२० डलरबाट २ हजार ६० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा १३ हजार ४६० डलर कायम गरेको छ । साथै न्यारो बडीको भाडा प्रतिघण्टा ७ हजार ७१० डलरबाट १ हजार १३० डलर कम गरी नयाँ भाडा प्रतिघण्टा ६ हजार ५८० डलर कायम गरेको छ ।


क्लिकमान्डु