सेवानिवृत्त सरकारी कर्मचारीको पेन्सन अब सोझै बैंक खातामा पठाइने



काठमाडौं । सेवा निवृत सरकारी कर्मचारीको मासिक निवृत्तभरण (पेन्सन) रकम विद्युतीय कोष हस्तान्तरण (इफटी) बाट सोझै सम्बन्धित कर्मचारीको खातामा जम्मा हुने प्रणाली लागू भएको छ ।

यसअघि सञ्चय कोष र कोष तथा लेखा नियन्त्रक कार्यालयको माध्यामबाट पेन्सन भुक्तानी हुने गरेकोमा अहिले महालेखा नियन्त्रक कार्यालयको एफटी प्रणालीबाट सोझै कर्मचारीको खातामा पेन्सन रकम जाने व्यवस्था कार्यान्वयनमा आएको हो ।

यो प्रणाली लागुभएसँगै अब निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ गरी करिब २ लाख ७६ हजार सेवा निवृत्त सरकारी कर्मचारीहरुको पेन्सन रकम सोझै बैंक खातामा जानेछ ।

महालेखा नियन्त्रक मधुकुमार मसासिनीले यो प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा (डिजिटल नेपाल फ्रेमवर्क) लागु गर्न सहयोग पुग्ने बताए ।

‘पेन्सन भुक्तानीमा सरलीकरण र सहजीकरण भई सम्बन्धित निवृतीभरण प्राप्त गर्ने व्यक्तिले छिटो, छरितो र प्रभावकारी सेवा पाउँछन,’ मरासिनीले भने, ‘निवृतीभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रबाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्नेछ ।’

महालेखा नियन्त्रक कार्यालयले गत फागुनमा सरकारी कर्मचारीको सञ्चय कोष, निवृत्तभरण कोष र सापटी भुक्तानी रकम राट्रिय लेखा प्रणालीमार्फत् भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।


क्लिकमान्डु