बजेट कार्यान्वयनमा कुनै कसुर बाँकी राख्दैनौं: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जेठ १५ मा बजेट ल्याउनुको अर्को संवैधानिक व्यवस्था नरहेकाले सरकारले पूर्ण आकारको बजेट सार्वजनिक गरेको बताएका छन ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि शनीबार अध्यादेशमार्फत सार्वजनिक भएको बजेट कार्यान्वयनका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने पनि अर्थमन्त्री पौडेलले बताए ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले अहिलेको सरकारले प्रस्तुत गरेको बजेट संवैधानिक व्यवस्थाअनुसारको नै रहेको अर्थमन्त्री पौडेलले दावी गरे ।

‘सरकार संविधानको सर्वोच्चता र कानूनको राज प्रति प्रतिवद्ध छ । अहिले बजेट नल्याउने अर्को संवैधानिक विकल्प हामीसँग थिएन,’ अर्थमन्त्री पौडेलले भने । ‘संविधानमा भएको जेठ १५ गते बजेट ल्याउनैपर्ने व्यवस्थालाई कार्यान्वयन गर्नु अर्थमन्त्रीका हिसाबले मेरो जिम्मेवारी हो ।’

धेरैतिरबाट बजेट कार्यान्वयनको सवाल उठेकोमा अहिलेको सरकारले त्यसलाई कार्यान्वयन गरेर देखाउने पनि उनले बताए ।

‘हामी बजेट कार्यन्वयन गरेर देखाउँछौं । यो बजेट सुनाउनका लागि मात्र ल्याएको होइन । कार्यान्वयन गर्नका लागि हो । बजेटमा निर्धारण भएका सबै लक्ष्यहरु पूरा हुन्छन,’ अर्थमन्त्री पौडेलले भने । ‘म दोहोर्याएर भन्छु । यो सरकारले बजेट कार्यान्वयन गर्छ । भोलिदेखि नै सबै मन्त्रालयसँग बजेट कार्यान्वयनका लागि छलफल शुरु गर्छौं ।’

आगामी आर्थिक वर्षको बजेट अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि केन्द्रीत भएको पनि पौडेलले बताए ।


क्लिकमान्डु