पानीजहाजलाई बजेट छैन, रेललाई १० अर्ब



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको परिचय पानीजहाज र रेलसँग जोडिएको छ भन्दा अन्यथा नहोला । तर, केपी ओली सरकारमा रहँदा पनि कार्यान्वयनमा भने उति प्रगति देखिएको छैन ।

केपी ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दा रेललाई १० अर्ब ३ करोड छुट्याए पनि पानीजहाजका लागि पनि आवश्यक रकम बिनियोजन गर्ने छौं भनेर मात्रै टारेका छन् ।
झण्डै ४ वर्षअघि अर्थात् २०७४ पुस १७ गते संघीय संसदको प्रतिनिधिसभाको बैठक चलिरहँदा सभामुखसँग समय लिएर रोष्टममा उभिएका थिए प्रधानमन्त्री केपी शर्मा ओली ।

यद्यपि, यतिबेला उनले प्रतिनिधिसभा विघटन गरेका छन् । कामचलाउ सरकारमा परिवर्तन भएका छन् । उनी नेतृत्वको सरकारले शनिबार बजेट ल्याएको छ ।

प्रतिनिधिसभा विघटन गरेका उनको सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेका छन् । उनले हरेक वर्ष ठूला-ठूला सपना बाँड्ने गरेका छन् । भौतिक पूर्वाधारका अलावा रेल र पानीजहाजको विषय उनका हरेक भाषणमा छुट्दैन । आगामी आवको बजेटमा समेत ती विषय अट्नेछन् ।

फेरि पुस १६ मा नै फर्कौं । सभामुखसँग ओलीले समय लिएकाले नेपाली जनतालाई विश्वासमा लिने केही महत्वपूर्ण भाषण गर्लान् भन्ने धेरैको अपेक्षा थियो । मिनपचासको जाडोमा प्रतिनिधिसभाको बैठक कक्ष भरिभराउ थियो ।

प्रधानमन्त्रीले आफ्नै शैैलीमा भाषण शुरु गरे । उनले आफ्ना विरोधीमाथि प्रहार गर्न उखान टुक्का प्रयोग गर्छन् । र, राष्ट्रिय समस्या समाधान गर्न भन्दा हावादारी भाषण गरेरर एक छिन सुन्नेलाई रमाइलो प्रदान गर्छन् ।

यो उनको शैली नै हो । त्यसदिन पनि त्यसै गरे उनले । प्रधानमन्त्रीले राष्ट्रिय विषयलाई छाडे । बरु उनले रेल र पानीजहाजको टिकट काट्नका लागि तयार रहन आग्रह गरे ।

ओलीले विगतमा रेल र पानीजहाज ल्याउँछुभन्दा आफूलाई खिल्ली उडाउनेहरू अहिले हो रहेछ भन्ने थालको समेत बताउन भ्याए ।

प्रधानमन्त्री ओलीले त्यसदिन भनेका थिए ‘अब टिकट काट्न तयार रहनुस्, रेल र पानीजहाज हामी जसरी पनि ल्याउँछौ ।’ उनले त्यत्तिमात्रै भनेनन् । समृद्धिको सपना देखेर कुनै गल्ती नगरेको पनि दोहोर्याए ।
यतिबेला नयाँ आवको बजेट आउँदैछ ।

ओलीले त्यतिबेला दोलाघाटबाट पानीजहाज चल्ने र टिकट काट्न तयार भएर बस्न प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुलाई आग्रह गरेका थिए । काँग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्रीले पानीजहाजको नाममा हुँदै नहुने सपना बाँडेको आरोप लगाएका थिए । थापाको प्रश्नमा उत्तर दिने क्रममा ओलीले पानीजहाजको टिकट काट्न तयार हुन भनेका थिए ।

अहिले के छ ?

यो झण्डै चार वर्ष पहिलेको कुरा थियो । अब अहिले के छ हेरौं । हालसम्म पानीजहाज कार्यालयको अवस्था के छ ? त्यसले के काम गरिरहेको छ भन्ने थाहा पाउन समेत नसकिने अवस्था छ । वित्तीय र भौतिक प्रगतिको अवस्था असाध्यै कमजोर छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयकाअनुसार पानीजहाज सञ्चालन गर्ने योजनालाई प्रधानमन्त्री ओलीले सरकारको रणनीतिक योजना भन्दै हल्ला मच्चाए । उनले उक्त योजनालाई ‘फ्ल्यागसिप’ कार्यक्रमको संज्ञासमेत दिएका थिए । काम र प्रगपत हेर्दा, अन्य रुग्ण आयोजना भन्दा फरक छैन, सो कार्यालय र काम समेत ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति १० प्रतिशत भन्दा कम देखाएको छ । जुन आफैंमा विरक्तको कथा बनेको छ । प्रधानमन्त्रीलाई खिल्ली उँडाएको छ । उनी आफै उडेका छन् । किनकी, ओलीको त्यो पूरा नहुने एउटा हवाई सपना नै थियो ।

ओलीले टिकट काट्न भनेको आयोजनाको कामको अवस्था दुरुहपूर्ण रहेको छ । किनकी, पछिल्ला दिनमा उनले त्यसलाई प्राथमिकतामा समेत राख्न छाडेका छन् । किनकी कुनै काम नै भएको छैन पानीजहाजमा ।

ओलीले २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा रहेको सडक विभागको कार्यालयमा पानीजहाज कार्यालय उद्घाटन गरेका थिए ।

पानीजहाज कार्यालयको उदघाटन गर्दै उनले त्यसदिन पनि अब केही महिनामै पानीजहाजको टिकट काट्न पाइने दावी गरेका थिए । उनले आफ्ना पार्टीभित्र र बाहिरका विरोधीलाई संकेत गर्दै भनेका थिए ‘केही महिना पर्खनूस्, टिकट नै काट्न पाइन्छ ।’

उनले त्यसदिन अघिल्लो वर्ष भारत भ्रमण जानुअघि नै पानीजहाजको सम्भावना देखेपछि जलमार्ग र रेलमार्ग बनाउनको लागि प्रस्ताव गरेको तर्क गरेका थिए ।

आफ्नो पानीजहाज चलाउने सपनालाई धेरैले हमला गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गर्दै व्यांग्यात्मक शैलीमा भनेका थिए ‘पाँच/सात जनालाई जागिर खुवाउनको लागि मात्रै पानीजहाज ल्याउन खोजिएको होइन ।’

तर, विडम्बना मुलुकको प्रधानमन्त्रीको भनाइ पूरा हुन सकेन । पानीजहाज कार्यालयको अवस्था उनले भनेजस्तै नै छ । ५/७ जना कार्यकर्तालाई जागिर खुवाउने शिवाय अरु केही हुन सकेन ।

काठमाडौं चक्रपथ सुधार योजनाको ११ कोठे भवनलाई कार्यालय भनिएको छ । नाम पानीजहाज कार्यालय भएपनि कार्यालयमा पानीसमेत उपलब्ध छैन ।

सहसचिवस्तरका रजिस्ट्रारसहित १६ जना कर्मचारी दरबन्दी कायम गरिएको सो कार्यालयमा वरिष्ठ अधिकारी नै छैनन् । उपसचिवस्तरका कर्मचारी छन् । अन्य कर्मचारी पनि कोही प्राविधिक छैनन् ।

सरकारले उक्त कार्यालयमा एक जना इन्जिनियरिङ सेवामा कार्यरत रजिस्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी १६ जना कर्मचारीको दरबन्दी तोकेको थियो । कार्यालयमा न त कर्मचारी, न त अध्ययन, न त बजेटको अवस्थामा छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी यसबारेमा प्रतिक्रिया दिन नै डराउँछन् । उनीहरु कोही पनि बोल्न तयार छैनन् ।

पानीजहाज कार्यालयले कोसीमा यसअघि नै सञ्चालनमा आएका स्टिमर दर्ता गरेर बसेको छ । यस्तै, चितवनको नारायणी नदीमा चलाइएको स्टिमरलाई पानी जहाज चलाएको भन्दै रमाएको छ । डुंगा तथा स्टिमर दर्ता गर्न ल्याउन आह्वान गरेको छ ।

कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिएका थिए । तर, पानीजहाज कार्यालय भने नीति, योजना र कार्यक्रमबिहिन अवस्थामा छ ।

यतिखेर पनि ‘पानीजहाजको टिकट कहाँ, कहिले काट्न पाइन्छ ?’ भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर सोध खोज गर्नेको संख्या घटेको छैन । तर, उनी उत्तर दिने अवस्थामा छैनन् । पछिल्ला दिनमा ओलीले अवस्था बुझेर हो वा काम हुँदैन भन्ने लागेर हो, पानीजहाजको कुरा गर्न छाडेका छन् ।

भौतिक पूर्वाधारका जानकार तथा विज्ञहरुका अनुसार पानीजहाज कार्यालयको उदघाटन भएपनि त्यसलाई चाहिने साधन स्रोत र कर्मचारी उपलब्ध हुन सकेको छैन ।

नेपालको कोशी तथा गण्डकी नदीमा पानीजहाज चलाउने विषयमा अध्ययन गरेका माधव बेल्वासे, खानेपानी मन्त्रालयका सचिवबाट रिटायर्ड भएर लोक सेवा आयोगको सदस्य बनीसकेका छन् ।

उनले तत्कालीन समयमा आफूहरुले अध्ययन गरेर प्रतिवेदन बुझाएको भएपनि अहिले कुन अवस्थामा छ आफूले भन्न नसक्ने बताउँदै आएका थिए । तर, पछिल्ला दिनमा उनी पनि चुपचाप छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाता हुँदै वाराणसीसम्म ल्याएको पानी जहाजसमेत चल्न सकेन । वर्षायामममा केही दिन चलाइए पनि हिउँदमा पानीजहाज बालुवामा धसिएका कारण चलाउन समस्या भएको भारतीय सञ्चारमाध्यमले समाचार विवरण सार्वजनिक गरेका थिए ।

भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको थियो । सोही आधारमा प्रधानमन्त्री ओलीले पनि कोसी र नारायणीमा जहाज चलाउन सकिने भन्दै संसदमा उभिएर टिकट काटन तयार भएर बस्न भनेका थिए ।

उता नचलेपछि यता चल्ने करा नै भएन । त्यसकारण पानीजहाज कार्यालय पानी नै नपाएर तिर्खाएर बसेको छ ।

प्रधानमन्त्री ओलीले भारतले गण्डकमा आफ्नोतर्फ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भइसकेको बताएका थिए । तर, त्यो डिपिआर कहाँ छ भन्ने स्वयमु ओलीलाई नै थाहा छैन होला । तर, जानकारहरुले भने बालुवामा जहाज धसिएपछि भारतले पनि तत्कालका लागि पानीजहाजको योजना स्थगित गरेको बताएका छन् ।

राज्यको कार्यकारी व्यक्तिले कुन हदसम्म गलत र पूरा नहुने विषयलाई उचालेर भाषण गर्दा रहेछन् भन्ने तथ्य पानीजहाजले स्थापित गरिदिएको छ । उनीहरुको भनाइ र गराइबीचको अन्तर आकाश जमिनको जस्तै रहेको देखिन्छ ।

प्रधानमन्त्रीजस्तो सम्मानित पद धारण गरेका व्यक्तिले दिएको भाषण कार्यान्वयन हुन सकेको छैन । बोली र काम गराईमा ताादम्य मिलाउने भनिएका प्रधानमन्त्री आज झण्डै चार वर्षपछि आफैंले टिकट काट्न आउन भनेकालाई कहाँ लगेर पानीजहाज चढ्लाउन भन्ने प्रश्न खडा भएको छ । के उनी यो विषयमा अझै पनि केही भन्न सक्ने अवस्थामा होलान् ?

पूरा नहुने झूटको आयू कति होला ? प्रधानमन्त्रीले टिकट काट्न आउनु भनेका नागरिकलाई उत्तर दिन पनि चाहेका छैनन् । झुटको पर्दा उध्रिएको समेत उनलाई पत्तो छैन ।

२०७५ असार १४ गते प्रधानमन्त्री ओलीले सरकारले पानी जहाज सञ्चालनको व्यापक गृहकार्य गरिरहेको बताएका थिए । यस्तै सोही सालको पुस १६ गते सप्तरीको पुरानो सदरमुकाम हनुमानगर आउन निम्तो नै दिएका थिए । आज निम्तो दिएको कति दिन पुग्यो ? ओलीले केही बताउन स्क्लान् ? आम जानकारको जिज्ञासा छ ।

तर, हनुमान नगरमा न त पानीजहाज छ । न त काठमाडौंमा ओलीको दुई तिहाईको सत्ता नै । संविधान विपरित विघटन गरिएको प्रतिनिधिसभाका सदस्यसमेत नरहेका प्रधानमन्त्री केवल कामचलाउ मात्रै छन् ।

प्रधानमन्त्रीले भनेको अर्को भाषण पनि हेरौं । उनले भनेका थिए ‘रेलको कुरा गर्दा खेलौना देखाए । जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाए । हेर्दाहेर्दै हनुमाननगरबाट रेल चल्छ । अहिले सन् २०१८ हो । सन् २०१९ को शुरूमै जहाज चल्छ । पुस १६ गते स्टिमर चढेर कलकत्ता गइन्छ । सबैलाई निम्तो छ ।’

तथ्य परिक्षण गरौं । ओलीले गरेको त्यो भाषणको । यतिखेर न त हनुमाननगरमा स्टिमर छ । स्थानीयले आफनो दैनिक जीवन चलाउन तयार पारेको काठको डुंगा भन्दा अरु केही पनि छैनन् हनुमाननगरमा ।

भारतबाट ल्याइएको रेल घाम तापेर बसिरहेको छ, धनुषामा । रेल कम्पनीका महाप्रबन्धक गुरु भट्टराई ओली विरोधी खेमालाई सामाजिक सञ्जालमा गाली गरेर बसिरहेका छन् । रेल चलाउनेतर्फ उनको कुनै ध्यान छैन ।

प्रधानमन्त्री ओलीले नेपालको पानीजहाजलाई पुस १६ गते कलकत्तामा स्वागत गरिने बताएका थिए । बिहिबार आज पुस १६ गते नै हो । कही कतै पानीजहाजको स्वागत गरिने समाचार आएको छैन ।

ओलीले निम्तो दिएको कहिले पूरा होला ? भन्न सकिने अवस्था छैन । तर पानीजहाज चल्नु त कता हो कता, कार्यालयले समेत हालसम्म कर्मचारी पाएको छैन ।

संसद र सार्वजनिक कार्यक्रममा विरोधीलाई गिल्ला गर्दै भाषण गरेका प्रधानमन्त्री ओली यतिखेर आफैं गिल्ला र हाँसोको पात्र बनेका छन् । विगतमा विपक्षीले पूरा नहुने सपना भन्दा उनीहरु विरुद्ध खनिएका प्रधानमन्त्री यतिबेला के भन्दा हुन् ? आम जनताको चासो छ ।

पानीजहाजको विषयमा अध्ययन गरेका एक सचिवका अनुसार नेपालका नदीमा पानीजहाज चल्न सक्छन् कि सक्दैनन् ? भन्ने नै थाहा नपाउने प्रधानमन्त्रीको सनकमा सो कार्यक्रम अगाडि सारियो ।

नेपालका नदीमा स्टिमर चलाउने हो कि पानीजहाज ? भन्नेमा कोही कसैलाई पनि थाहा छैन । जलयातायात विज्ञ पनि नेपालमा छैनन् ।

रमाइलोका लागि स्टिमर चलाउन त सकिन्छ । तर कहाँको स्टिमर, कहाँको पानीजहाज, आकाश जमिनको फरक छ । जानकारहरुले नदीमा जलसतह कम भएको र गहिराइसमेत कम भएकाले नेपालका नदीमा पानीजहाज चलाउन नसकिने बताउँदै आएका छन् ।

पानी जहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए ‘केही महिनाभित्रै पानीजहाज सञ्चालन गर्न सक्नेगरी आवश्यक जनशक्ति र योजना बनाइन्छ ।’

तर, उनले भनेको केही महिना कहिले आउने हो, कुनै ठेगान छैन । बरु पानीजहाजको कार्यालयसँग एउटा बोर्ड छ । केही कर्मचारी छन् । ती कर्मचारी यतिबेला कोरोनाका कारण घरमा नै बस्छन् ।

देशको राजनीतिको बारेमा गफ गर्छन् । बरु उल्टै प्रधानमन्त्री ओलीको कुरा काट्छन् । र बजेटमा तलब बढ्छ कि बढ्दैन भनेर बजेट भाषण सुन्न आतुर छन् ।


पुष्प दुलाल