आज ४ बजे बजेट सार्वजनिक हुने, को को उपस्थित हुन्छन् ? वृद्धभत्ता बढ्ने



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट आज सार्वजनिक गर्दैछन् । संविधानअनुसार संघीय संसदबा बजेट पेश गर्नुपर्ने भएपनि संसद विघटन गरेको सरकारले बजेट प्रस्तुत गर्दैछ ।

प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, योजना आयोगका उपाध्यक्ष, गभर्नर, प्रधानमन्त्री कार्यालयका सचिवहरु, अर्थ र राजस्व सचिवको उपस्थितिमा अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नेछन् ।

त्यसैगरी, निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षलाई बजेट सुन्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाइएको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था भएपनि यो पटक भने त्यो गरिएन । प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारबाट सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छन् ।

त्यही नीति तथा कार्यक्रम अनुसार अर्थमन्त्री पौडेलले निर्वाचनलाई प्रभाव पार्ने केही पपुलर कार्यक्रमहरुसहित साढे १५ खर्ब हाराहारीको बजेट सार्वजनिक गर्ने बताइएको छ ।

ओलीले यसअघि नै वृद्धभत्ता बढाउने घोषणा गरिसकेका छन्, जसअनुसार बजेटले ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ४ देखि ५ हजार रुपैयाँ पुर्याउने बताइएको छ ।

बजेट निर्माणमा संलग्न स्रोतका अनुसार विलासी र नकरात्मक सूचिमा रहेका वस्तुहरुको बाहेक अन्य बस्तुहरुमा खासै कर बढाइएको छैन भने निर्वाचनका लागि मोटो रकम बिनियोजन गरिएको छ । बजेट कोरोना महामारी नियन्त्रण र आर्थिक पुनरोत्थानमा केन्द्रित छ ।


पुष्प दुलाल