यी अर्थमन्त्री, जसले बजेट ल्याउन पाएनन्



काठमाडौं । आज गणतन्त्र दिवस । नेपालको संविधान अनुसार आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत हुँदैछ ।

बुधबार अपरान्ह ४ बजे बस्ने संघीय संसदको संयुक्त अधिवेशनमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्ने छन् ।

मंगलबार राती ११ बजेसम्म बसेर अर्थमन्त्री डा खतिवडाले बजेटको तयारी गरे । आज बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेपछि संघीय संसदमा बजेट पेश हुन्छ ।

२०६२/६३ को आन्दोलन लगत्तै देशमा गणतन्त्र आयो । आज गणतन्त्र दिवस पनि हो । तर बजेटका इतिहास हेर्दा अनेकन रमाइला र अनौठा घटना पनि रहेका छन् ।

संसदमा नै अर्थमन्त्री ब्रिफकेश पनि फोडिएका थिए भने १८ महिना भन्दा बढी अर्थ मन्त्री भएर पनि बजेट ल्याउन नपाएको तितो इतिहास पनि छ ।

अर्थमन्त्री भएर पनि बजेट ल्याउन नपाएका अर्थमन्त्रीको रुपमा वर्षमान पुन रहेका छन् । उनलाई पनि अर्थमन्त्रीको हैसियतले बजेट ल्याउन तीब्र इच्छा थियो ।

संविधान निर्माणमा चक्रमा देश फसेको थियो । संविधानसभाले प्रभावकारी काम गर्न सकिरहेको थिएन । जसका कारण उनले बजेट प्रस्तुत गर्ने सौभाग्य पाएनन् ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा पुन अर्थमन्त्री बनेका थिए । हाल उनी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको रुपमा कार्यरत छन् ।

२०६८ भदौ १२ मा गठित सरकारको अर्थमन्त्रीको रुपमा उनले कार्यभार सम्हाले । राजनीतिक अस्थिरता, संविधान निर्माणको सकसका कारण आर्थिक वर्षको अन्तयमा बजेट ल्याउने समयसीमा नै भत्किएको थियो । बजेट ल्याउने समयमा नै दलहरुबीच चर्को राजनीतिक खिचातानी हुने गर्दथ्यो ।

उनी अर्थमन्त्रीका नियुक्त हुँदा नयाँ आर्थिक वर्ष सुरु भइसकेको थियो । तत्कालीन सरकारले बजेट ल्याउने प्रस्ताव गरेको थियो । तर राजनीतिक दलहरुबीचको चर्को विवाद र विरोधका कारण उनले बजेट ल्याउन पाएनन् । अर्थमन्त्रालयको हलमा सामान्य पत्रकार सम्मेलन गरेर अघिल्लो आर्थिक वर्षको बजेटलाई ने उनले कार्यान्वयन गरे ।

बजेट ल्याउने विषय अगाडि बढ्ना साथ चर्को विरोध हुने, सरकार नै ढल्ने अवस्था आउने भएकाले पनि तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले पेश गरेको बजेटलाई नै उनले कार्यान्वयन गरे । आर्थिक वर्षको नाम थप्दै पूरानै बजेटलाई कार्यान्वयन गराएका थिए ।

अर्थमन्त्रीको रुपमा लामो समय अर्थमन्त्रालयमा रहेपनि दुर्भाग्यवश पुनले बजेट पेश गर्न पाएनन् । अर्को आर्थिक वर्ष सुरु हुँदा समेत उनले बजेट ल्याउन पाएनन् । अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगको हर्क गुरुङ सभा कक्षमा पत्रकार सम्मेलन गर्ने र मध्यावधि समिक्षा गर्नेमा नै उनी सिमित भए ।

अनौपचिारिक कुराकानीका क्रममा मन्त्री पुनले आफूले बजेट प्रस्तुत गर्न नपाएकोमा तत्कालीन राजनीतिक परिस्थितीलाई जिम्मेवार ठान्छन् । मेरो चाहना थियो, एउटा मन्त्रीको हैसियतले बजेट प्रस्तुत गर्ने, तर त्यो अवसर प्राप्त हुन सकेन । बजेट बन्ने तर प्रस्तुत गर्न नपाउने अवस्थाबाट उनी गुज्रिए । तर उनले देशको अर्थतन्त्रलाई भने ठिकै ड्राइभ गरेका थिए ।

बजेट नै ल्याउन नपाइकन खिलराज रेग्मी नेतृत्वको सरकार गठन भएपछि शंकर कोइरालाई अर्थ मन्त्रालयको जिम्मा दिएर उनले अर्थ मन्त्रालय छाडे । आम मानिसको नजरमा वर्षमान पुन अर्थमन्त्री त थिए, तर बजेट भने प्रस्तुत गर्न पाएनन् । अर्थमन्त्री नै भएर पनि बजेट प्रस्तुत गर्न नपाउनु दुःखद रहेको भन्दै उनले गुनासो पनि गर्ने गरेका थिए ।

उनी मात्रै होइन यसअघि पनि अर्थमन्त्री भएर पनि बजेट ल्याउन पाएका थिएनन् । त्यसमा तत्कालीन राजाको प्रत्यक्ष शासन कालका अर्थमन्त्री डा बद्री श्रेष्ठले बजेट ल्याउन पाएका थिएनन् ।

यस्तै पछिल्लो पटक ज्ञानेन्द्रबहादुर कार्कीले पनि बजेट ल्याउन पाएनन् । उनी भन्दा अघिल्ला अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएको बजेटलाई नै उनले कार्यान्वयन गरेका थिए ।

चुनावी सरकारका अर्थमन्त्रीका रुपमा कार्यरत ज्ञानेन्द्रबहादुर कार्कीले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेटलाई नै कार्यान्वयन गरेको र वर्तमान सरकार गठन भएपछि पनि महराकै बजेट कार्यान्वयन भयो ।

नेपालको बजेट इतिहासमा डा. बद्री श्रेष्ठ, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्री भएपनि बजेट ल्याउन पाएनन् ।


पुष्प दुलाल