कोरोना महामारीमा सरकारले २ अर्ब कर र बैंकहरूले १० अर्ब ब्याज छुट दिए



काठमाडौं । कोरोना महामारीबाट प्रभावित बनेका करदातालाई सरकारले चालु आर्थिक वर्षमा २ अर्बभन्दा बढी कर छुट दिएको छ ।

शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडलले चालु आर्थिक वर्ष २०७७/०७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै ५ लाख २० हजार ३ सय ३९ करदातालाई वार्षिक कारोबारको आधारमा २०७६/०७७ को आयमा लाग्ने करमा २ अर्ब १९ करोड ६२ लाख छुट सुविधा दिइएको बताए ।

महामारीले उद्योग व्यवसायमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०७६/०७७ मा १० अर्ब रुपैयाँभन्दा बढी ब्याज छुट दिएको पनि मन्त्री पौडेलले जानकारी दिए ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मासिक ब्याज रकममा आधार दरभन्दा कम नहुनेगरी १० प्रतिशत र चौथो त्रैमासमा २०७६ चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दुले कम हुनेगरी छुट दिँदा ऋणीहरूले २०७७ असारसम्ममा करिब १० अर्ब २१ करोड ६६ लाख छुट सुविधा प्राप्त गरेको उनले जानकारी दिए ।


पुष्प दुलाल