५ लाख २० हजार करदातालाई २ अर्ब १९ करोड बराबर आयकर छुट



काठमाडौं । कोभिड १९ महामारीका कारण प्रभावित अर्थतन्त्रका लागि सरकारले घोषणा गरेको उद्धार, राहत तथा पुनरुत्थान कार्यक्रमअन्तर्गत हालसम्म ५ लाख २० हजार ३३९ जना करदाताले २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ बराबरको आयकर छुट सुविधा पाएको देखिएको छ ।

अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार सरकारले विभिन्न ४ वटा शीर्षकमा उपलब्ध गराएको आयकर छुटबापत करदाताले यो सुविधा पाएका हुन् ।

सरकारले वार्षिक २० लाख सम्मको कारोबार वा २ लाख सम्मको आय हुने करदातालाई आयवर्ष २०७६÷७७ मा लाग्ने आयकरमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । जसअन्तर्गत ४ लाख ४८ हजार ७ सय ७३ करदाताले १ अर्ब ५२ करोड ३८ लाख बराबरको कर छुट सुविधा पाएका छन् ।

त्यस्तै, वार्षिक २० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबारमा ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएकोमा २० हजार ६० करदाताले २१ करोड १८ लाख बराबरको कर छुट पाएका छन् ।

वार्षिक १ करोड रुपैयाँसम्मको व्यवसायिक कारोबार भएका करदातालाई आयकरमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । जसबाट ५१ हजार २ सय ४३ करदाताले ४० करोड ४३ लाख रुपैयाँ बराबर छुट सुविधा पाएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

त्यस्तै होटल, ट्राभल, ट्रेकिङ यातायात तथा हवाइ सेवाको १ करोड रुपैयाँ भन्दा बढी कारोबार भएका करदातालाई आयकरमा २० प्रतिशत छुटको व्यवस्था गरिएकोमा २ सय ८३ करदाताले ५ करोड ६३ लाख बराबरको कर छुट सुविधा पाएका छन् ।


क्लिकमान्डु