अर्थतन्त्र राम्रो भए पनि आर्थिक वृद्धिदरको लक्ष्य हासिल चुनौतीपूर्णः अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले राखेको करिब ४ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने बताएका छन् ।

चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको प्रगति विवरण सार्वजनिक गर्न अर्थमन्त्रालयले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

चालु आर्थिक वर्षका लागि ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकोमा उक्त लक्ष्य हासिल गर्न नसकिने अर्थमन्त्री पौडेलको भनाइ छ ।

कोभिड १९ महामारीको दोस्रो लहरका कारण अनुमानित आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न गाह्रो हुने उनले बताए ।

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि ३.९८ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको थियो ।

अर्थ सचिव शिशिर ढुंगानाले आर्थिक वृद्धिदरको लक्ष्य फागुनसम्म ४.४ प्रतिशतमा आउन सक्छौं भनिए पनि अहिले चुनातीपूर्ण रहेको बताए । उनले ५ प्रतिशतसम्म आर्थिक वृद्धि हुने अवस्था रहेको भए पनि पछिल्लो समयमा आएको कोभिडका कारण अवस्था चुनौतीपूर्ण भएको बताए ।

उनले आर्थिक वृद्धिदर संकुचन हुने अवस्था नरहेको दावी समेत गरे ।

‘हाम्रो शोधानान्तर स्थिती राम्रो छ, रेमिट्यान्स राम्रो छ । तर आर्थिक वृद्धिदरको लक्ष्य मात्रै हासिल नभएको हो । जोखिमको अवस्था आइसकेको छैन,’ उनले भने ।


क्लिकमान्डु