आर्थिक सर्वेक्षण र पहेँलो किताब बजेट अगावै सार्वजनिक गर्ने मन्त्रालयको तयारी



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याउने तयारी गरेसँगैै अर्थ मन्त्रालयले हरेक वर्ष बजेटअघि सार्वजनिक गर्दै आएको आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरुको संस्थानको प्रगति विवरण (पहेँलो किताब) र मन्त्रालयहरुको प्रगति विवरण प्रतिवेदनहरु पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

संसद कायम रहेको अवस्थामा मन्त्रालयले यी विवरणहरु पनि संघीय संसदका दुबै सदनमा पेश गर्नुपर्छ ।

तर, सरकारले संसद विघटन गरेपछि मन्त्रालयले अध्यादेशमार्फत बजेट सार्वजनिक हुने मितिलाई छेको पारेर यी विवरणहरु सार्वजनिक गर्ने तयारी गरेको हो ।

‘यसवर्ष पनि बजेट सँगसँगै ती विवरणहरु सार्वजनिक गर्ने तयारी छ, मन्त्रालयले बनाएको कार्यतालिकाअनुसार नै प्रकाशित हुन्छन्,’ मन्त्रालयका प्रवक्ता महेश आचार्यले क्लिकमाण्डुसँग भने ।

बजेट निर्माणका लागि अर्थ मन्त्रालयले तयार पारेको वार्षिक कार्यतालिकाअनुसार बजेटसँग सम्बन्धित अधिकांश कामहरु मन्त्रालयले टुंगाईसकेको छ ।

जेठ १५ गते बजेट सार्वजनिक हुने समयलाई आधार मान्ने हो भने अब अन्तिम चरणका कामहरु मात्रै बाँकी छन् ।

यो अवधिसम्ममा आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने, आय–व्यय अनुमानसम्बन्धी किताब छपाईका लागि प्रेसमा पठाउने, बजेट वक्तव्यलाई अन्तिम रुप दिने, राष्ट्रिय योजना आयोग र नेपाल सरकारमा ब्रिफिङ्ग र बजेटसँग सम्बन्धित विधेयक छपाईका लागि पठाउने काम मात्रै बाँकी रहन्छ ।

त्यसमा पनि योजना आयोगसँगको छलफल र छपाईको काम मन्त्रालयले बजेट सार्वजनिक हुने अघिल्लो दिन मात्रै गर्ने गरेको छ । देशको राजनीतिक अवस्थाका कारण यसवर्ष मन्त्रालयको कार्यतालिकामा प्रभावित भएको थियो ।


पुष्प दुलाल