कोरोनाका कारण कर्मचारीको निधन भए परिवारलाई नियमित तलब दिँदै टाटा
एजेन्सी । कुनै पनि कम्पनीका कर्मचारी कोरोनाका कारण निधन भए भने उनका आश्रित परिवारलाई के कस्तो सेवा सुविधा देलान् वा दिएका छन् ? तपाईंले यसबारेमा केही सुन्नु वा थाहा पाउनु भएको छ ?
सायदै छैन, होला । तर भारतको एक प्रख्यात कम्पनीले भने कोरोनाका कारण आफना कर्मचारी निधन भए उनीहरुको परिवारलाई मासिक रुपमा नै तलब तथा सुविधा दिने भएको छ ।
टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ ।
टाटा स्टील कम्पनीमा कार्यरत तथा विश्वव्यापी महामारीका कारण निधन भएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रुपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्नेछ, टाटा कम्पनीको बजार व्यवस्था शाखाले जनाएको छ ।
त्यसैगरी कोभिड–१९ का कारण निधन भएका कर्मचारीका सन्तानको स्नातकसम्मको अध्ययन खर्च पनि बेहोर्ने कम्पनीले जनाएको छ ।
टाटा कम्पनीले उक्त घोषणा सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी गराएको छ । कम्पनीको उक्त घोषणाको सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् ।