नागढुंगा-नौबिसे सुरुङमार्ग निषेधाज्ञामा पनि काम हुँदै, ५४३ मिटर सुरुङ छेडियो



काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माणको क्रममा ५४३ मिटर खनिएको छ । जसमा मूख्य सुरुङ १४० मिटर, इभाक्युएसन टनेल (सुरुङ) २८४ मिटर र वर्किङ अडिट सुरुङ ११९ मिटर खनिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए ।
सुरुङ विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ । यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो ।

निषेधाज्ञाका कारण मुलुकभरका अधिकांश विकास आयोजना प्रभावित बन्द भए पनि नागढुंगा–नोबीसे सुरुङमार्ग निर्माण प्रक्रियाले भने निरन्तरता पाइरहेको छ । निर्माण सामग्रीको पर्याप्त आपूर्ती भएकाले निर्माण कार्यलाई निरन्तरता दिन सकिएको शाक्यले बताए ।

स्थानीय प्रशासनसँगको सहकार्यमा निर्माण सामग्री बोक्ने सीमित गाडीलाई पासको व्यवस्था गरिएको छ । कोभिड प्रोटोकल अनुसार राती निर्माण सामग्री बोक्ने गाडीका लागि पास आवश्यक पर्दैन ।

३३ जनामा कोराना पोजेटिभ
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सुरुङमार्ग निर्माणको काम भइरहेको शाक्यको दावी छ ।

कोभिड संक्रमण फैलन सक्ने भएकाले सडक विभागका कर्मचारी र भिजिटर (निरिक्षण) गर्न आउनेलाई पनि रोक लगाइएको छ । निर्माण कार्यको नियमित अनुगमन गर्नेलाई निर्माणस्थलकै क्याममा राखिएको छ ।

सावधानी अपनाउनुका बाबजुत ३३ जना कामदारमा कोभिड–१९ पोजेटिभ देखिएको उनले बताए । यसले गर्दा निर्माण कार्यमा केही प्रभाव परेको छ । संक्रमितमध्ये ३२ जनाको साईटकै आइसोलेसन सेन्टर र १ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

कर्मचारी र कामदार गरेर साइटमा ७०० जना कार्यरत थिए । सँगै काम गर्ने साथी र परिवारका सदस्यमा कोरोना देखिएको भन्दै केही कामदार घर फर्किएका छन् । कामदारको अभावमा क्षमता अनुसार काम गर्न सकिएको छैन ।

कामदारको अभाव तथा निर्माण स्थलमै कोभिड संक्रमित देखिएसँगै कामको दायरा घटाइएको छ । कोभिड–१९ को प्रकोप शुरु हुनु अघि दुई सिफ्टमा काम हुने गरेको थियो । अहिले मूख्य टनेलमा मात्रै दुई सिफ्टमा काम गरिएको छ ।

‘आयोजनाको जटिल काम भनेको मूख्य सुरुङमार्ग निर्माणको काम हो । सुरुङको काम रोक्नु भएन,’ शाक्यले भने, ‘यो रोकियो भने निधारित समयमा काम सक्न हम्मे पर्छ ।’

सहायक सडक र कल्र्भटलगायतको काम केही समयपछि गर्दा पनि हुने उनले बताए । अहिले धादिङतर्फ मात्र पहुँच मार्गको काम भइरहेको छ । र, धादिङतर्फको सहायक सडकको काम भइरहेको छ । आयोजनाले अहिले कोभिड पोजेटिभ र कमदार घर फर्किएकाले काठमाडौंतर्फको पहुँच सडकको काम हुन सकेको छैन ।

२०७६ असोज ६ गते सडक विभाग र जापानको हाज्मा–आन्द्रो जेभीबीच सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएसँगै निर्माण प्रक्रिया अघि बढेको थियो । सुरुङ खन्ने काम भने २०७७ पुसदेखि मात्र शुरु गरिएको थियो ।

जापानी कम्पनीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको हो । सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।

दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किमि कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबीसे पुग्न सकिनेछ ।

सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराएको छ । यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र मुआब्जाका लागि नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ ।


क्लिकमान्डु