तीनकुने-एयरपोर्ट-तिलगंगा सडक ८ लेनको बन्ने



काठमाडौं । चक्रपथको तीनकुने-एयरपोर्ट–तिलगंगा सडकखण्ड विस्तार हुने भएको छ । सडक डिभिजन काठमाडौंले यो सडक खण्डलाई कोटेश्वर–कलंकी खण्डजस्तै ८ लेनमा विस्तार गर्न लागेको हो ।

तीनकुने-एअरपोर्ट-तिलगंगा २.४ किलोमिटर सडकखण्ड विस्तार गर्न सडक डिभिजन काठमाडौंले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको काठमाडौं डिभिजनका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

टेक स्टुडियो अफ इन्जिनियरिङले २०७७ फागुनदेखि डिजाइनको काम गरिरहेको छ ।

‘आगामी आर्थिक वर्षमा निर्माण शुरु गर्ने लक्ष्यका साथ डिजाइन अघि बढाइएको हो, डिजाइनको प्राविधिक काम सकिसकेको छ,’ नेपालीले क्लिकमाण्डूसँग भने, ‘निषेधाज्ञाका कारण फिल्डमा गएर काम गर्न समस्या भइरहेको छ ।’

तीनकुने-तिलगंगा सडक खण्डको राइट अफवे (सडकले ओगटेको जमिन) २५ मिटरमात्रै छ । सडकलाई ८ लेनमा विस्तार गर्न ५० मिटर जग्गाको आवश्यक पर्छ ।

सडकको दायाँतर्फ एयरपोर्ट र बायाँतर्फ निजी भवन छ । सडक विस्तार गर्न एयरपोर्ट, निजी जमिन वा एयरपोर्ट र निजी जमिन दुवैबाट समान जग्गा लिएर सडक विस्तार गर्नेगरी डिजाइन तयार गरिएको छ । यी तीनवटै डिजाइन डिभिजनले अध्ययन गरिरहेको छ ।

साथै मालपोत कार्यालयमार्फत् सडक किरामा पर्ने निजी जग्गाको लगत संगलन गरिरहेको छ । साथै सिनामंगल चोकमा एयरपोर्टतर्फ पेट्रोल भण्डार केन्द्र पनि छ । यस विषमा पनि डिभिजन र नेपाल नागरिक उड्डयान प्राधिकरणबीच छलफल भइरहेको छ ।

यो सडक विस्तार गर्न करिब २ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सडक विस्तारका लागि ठूलो संख्यामा निजी सम्पत्ति अधिग्रणह गर्नु पर्ने भएकाले मूआब्जामा धेरै रकम खर्च हुने सम्भावना छ । यसले गर्दा पनि सडक विस्तार प्रक्रिया चुनौतीपूर्ण रहेको सडक विभागका अधिकारीहरु बताउँछन् ।

साढे २७ किलोमिटर लामो चक्रपथको एउटा खण्ड नेपाल आफैले बनाउने रणनीतिअनुसार तीनकुने-एयरपोर्ट-तिलगंगा खण्डको डीपीआर तयार पारिएको हो । सन् १९७७ मा चीनकै सहयोगमा चक्रपथ निर्माण गरिएको थियो ।

चक्रपथकै कलंकी-कोटेश्वर खण्ड चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार भइसकेको छ । साढे १० किलोमिटर कलंकी-कोटेश्वर सडक ८ लेनमा विस्तार गरिसकिएको छ ।

चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो । २०७३ मागसम्म विस्तार सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । सडकको सीमा क्षेत्र खाली नगरी ठेक्का लगाइएको यो सडक निर्माण गर्न ५ वर्ष लागेको थियो ।

यस्तै दोस्रो चरणमा कलंकी-धोवीखोला (चाबहिल) खण्ड पनि चीनले विस्तार गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ । तर, यो खण्डमा कलंकी-कोटेश्वर सडक विस्तारका क्रममा भएको ढिला सुस्ती चीन दोहो¥याउन चाहँदैन । साइट क्लियर नभएसम्म डीपीआर नगर्ने चीनको अडान छ ।

कलंकी-धोविखोला सडक खण्डको चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । तर, डीपीआरअघि सडक सीमा क्षेत्र खाली हुनुपर्ने चीनको अडान छ ।

सहरी सडक

तीनकुने-एअरपोर्ट-तिलगंगा सडकखण्ड सहरी सडकको अवधारणा अनुरुप डिजाइन गरिएको प्रमुख नेपालीले बताए । सडक ८ लेनको हुनेछ । चार-चार लेनको बीचमा मेडियन हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । तीनदेखि साढे ३ मिटरको मेडियनमा कोटेश्वर–सूर्यविनायक र तीनकुने-माइतीघर खण्डको जस्तै बोट-विरुवा लगाइनेछ । सडकको दायाँबायाँ एक/एक सर्भिस लेन हुनेछ ।

सर्भिस लेन र मुख्य लेनकाबीचमा विद्युत्का तार, टेलिफोन, इन्टरनेट र केबल, ढल तथा खानेपानीलगायत युटिलिटिजका तार र पाइप अन्डरग्राउन्ड गर्ने ठाउँ छोडिनेछ ।


पुष्प दुलाल