शोले फिल्मबाट प्रभावित भएर भारतमा बन्यो, मोटरसाइकल एम्बूलेन्स



एजेन्सी । कोरोना महामारीको दोस्रो लहरबाट नेपाल र छिमेकी मुलुक भारत आक्रान्त छ । अक्सिजन, औषधी र एम्बूलेन्सको चरम अभाव छ । भारतमा अटो रिक्सा, ट्याक्सीमा अक्सिजन सिलिन्डर लगाएर एम्बूलेन्स जस्तै प्रयोग भइरहेको छ । तर भारतको महाराष्ट्रको पालघरमा चर्चित भारतीय फिल्म शोलेबाट प्रेरित भएर मोटरसाइकल एम्बूलेन्स बनाइएको छ । जसमा बिरामीका लागि स्ट्रेचर, अक्सिजन किट, पंखा र बत्तीको सुविधा दिइएको छ ।

यस एम्बूलेन्सको तस्बिर आईपीएस अधिकारी दीपांशु काबराले आफ्नो ट्विटर एकाउन्टमा शेयर गरेका छन् । त्यसपछि यस आविष्कारले सामाजिक सञ्जालमा एकदमै प्रशंसा प्राप्त गरेको छ ।

महाराष्ट्र कोरोना प्रकोपका कारण निकै आक्रान्त छ । बिरामीलाई सुविधा प्रदान गर्न समाजसेवी र सरकारी संस्थाले विभिन्न प्रयास गरेका छन् । यस्तो अवस्थामा पालघरको अलर्ट फोरम र स्टेट बैंक अफ इन्डियाले शोले फिल्ममा जय–वीरुको मोटरसाइकल जस्तै मोटरसाइकल एम्बूलेन्स सेवा शुरु गरेको हो ।

यस मोटरसाइकल एम्बूलेन्समा एक जना बिरामीलाई सेवा दिन सक्ने क्षमता छ । यसमा बिरामीका लागि आवश्यक उपकरण अक्सिजन किट, फंखा र बत्तीको सूविधा छ । एम्बूलेन्स मोटरसाइकसँग जोडिएको हुनाले आवश्यकता अनुसारको स्थानमा सहज रुपमा सेवा दिन सकिन्छ ।


पुष्प दुलाल