खाद्य कम्पनीको खाद्यवस्तु अब सस्तोडिल र मुकुन्डोमार्फत् निःशुल्क होम डेलिभरी हुने



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सम्पूर्ण खाद्यवस्तु ई-कमर्श पोर्टल सस्तोडिल डटकम र मुकन्डो डटकममार्फत् निःशुल्क डेलिभरी गर्ने भएको छ ।

हाल तीव्र गतिमा फैलिएको कोरोना महामारीको जोखिम न्यूनिकरण तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाबाट उपभोक्तालाई असुविधा पर्न गएको भन्दै कम्पनीले अनलाइन डेलिभरी कम्पनीसँग सम्झौता गरी सो सुविधा उपलब्ध गराउने भएको हो ।

कम्पनीले निषेधाज्ञाको समयलाई मध्यनजर गरी सामाजिक उत्तरदायित्वस्वरुप कम्पनीबाट बिक्री भईरहेको खाद्य लगायतका अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर लिई निःशुल्क होम डेलिभरी गर्ने सेवा सञ्चालन गर्दै आएको छ ।

यस सेवालाई क्रमिक रुपमा बिस्तार गरी आपूर्ति व्यवस्था, सहज, सुलभ एवं योग्य तुुल्याउनका लागि कम्पनीले यस्ता सेवा प्रदायक अन्य कम्पनीहरुको सहकार्यलाई पनि बिस्तार गर्दै लगेको जनाएको छ ।
साथै उपत्यकावासी उपभोक्ताले ई- कमर्श पोर्टलमार्फत अर्डर गरी कम्पनीबाट बिक्री भइरहेको खाद्यलगायत अत्यावश्यक वस्तुहरू घरमा प्राप्त गर्न सक्नेछन् ।

जसमा कम्पनीबाट नेपालफुड डट जीओभी डट एनपीबाट उपत्यकाको चक्रपथभित्र र सस्तोडिल र मुकुन्डोबाट उपत्यकाभर निशुल्क डेलिभरी हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु