एफएनसीसीआई शुरु गर्यो ‘हेल्लो डाक्टर’ अभियान



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।

विपत्तिमा मुलुक पर्दा मुलुकवासीहरूको सहयोगार्थ महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल भियान अन्तर्गत पहिलो कार्यक्रमको रूपमा शनिबारदेखि हेल्लो डाक्टरको शुभारम्भ गरेको हो ।

एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियान अन्तर्गत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा महासंघ छ ।

हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा सञ्चालन गरिएको हो । जसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् ।

हेल्लो डाक्टरमार्फत् स्वास्थ्य परामर्श दिने कार्य आइतवारबाट शुरु हुनेछ । कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरूले हेल्लो डाक्टरमार्फत् भरपुर सहयोग लिन सक्नेछन् ।

हेल्लो डाक्टर, भाइबरमार्फत् कोभिड संक्रमित विरामी र डक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ ।

प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने छ । त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ । नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ । र, सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय विरामीलाई पठाइने छ ।

तत्पश्चात डाक्टरहरूले भिडियो कलमार्फत् बिरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुनेछ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।

रोग संक्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत् डाक्टरसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालीन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको महासंघको भनाइ छ । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसंग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमित विरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ ।

महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढीभन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गरेका छन् ।

आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष गोल्छाले बताए ।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन नयां रेकर्ड राख्दै बढिरहेको छ ।

महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आआफ्नो ठाउँबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघ सबैमा गम्भीर आग्रह समेत गरेको छ ।


क्लिकमान्डु