मन्त्री त्रिपाठीलाई सुरज वैद्यकाे चुनौती: कमिसन नपाएर भ्याक्सिन राेकेकाे प्रमाणित भए व्यापार छाेड्छु



काठमाडौं । कमिसन नमिलेका कारण कोरोना विरुद्धको खोप नल्याएको आरोप खेपेका व्यवसायी सुरज वैद्यले उक्त आरोप निराधार भएको बताएका छन् ।

क्लिकमाण्डूसँग कुरा गर्दै उनले स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले बिना आधार र बिना प्रमाण आरोप लगाएको बताए । उनले मन्त्री त्रिपाठीले आरोप प्रमाण गर्न सके आफू व्यवसाय नै छाड्न र जुनसुकै कारबाही भोग्न पनि तयार रहेको बताए ।

‘म र मेरो परिवार कमिसनको चक्करमा खोप नल्याउने गरी काम गरेको प्रमाणि भए म सम्पूर्ण व्यवसाय छाड्न तयार छु,’ उनले भने, ‘मन्त्री हृदयेश त्रिपाठीले जनतामा भ्रम छर्ने काम गरेका छन् ।’

वैद्यले के भने ?
प्रधानमन्त्री र हृदयेश त्रिपाठीबीच कुरा नमिल्दा हामी जस्ता व्यवसायी मुछिएको हो । जुन मन्त्रीले आरोप लगाएर १० लाख डोज खोप नआएको कुरा गलत छ ।

पक्कै पनि शुरुमा हामी सहभागी थियौं । सिरमले यो भ्याक्सिन उत्पादन गर्नु अघि नै बंगलादेश, साउदी र नेपालसँग सम्झौता गरिसकेको थियो ।

नेपालका लागि हुकुम फार्मेसी विजय दुगडको छोरा मुम्बइ बस्नुहुन्छ उहाँसँग निकटता भएकाले २ मिलियन डोज दिन्छु भनेकाले हामीले पनि शुरु गरेका हौं । यसले नेपाललाई पनि सहयोग हुन्छ भनेकाले हामीले शुरु गरेका हौं ।

त्यो बेला हामीलाई पत्र पठाए अनुसार नोभेम्बर महिनासम्म त्यो भ्यालिड थियो । तत्कालिन समयमा ४ डलर ५० सेन्टको दरमा हामीलाई पठाएको थियो । त्यसपछि हामीले नेपाल सरकारसँग आयात गर्नका लागि माग गयौं । तर त्यो बेलामा निजी क्षेत्रलाई नदिन भन्ने छलफल भयो होला । त्यसका लागि समिति नै गठन पनि भयो । त्यसपछि क–कस्ले आयात गर्न सक्ने भनेर गर्न सक्छ भनेर मन्त्रालयमा पेश गर्न भनियो । त्यो बलामा स्पुतिनिक, चिनियाँ र सिरमको खोप पनि थियो । त्यसका लागि हामीले विश्व स्वास्थ्य संगठनको दोस्रो ट्रयालको रिपार्ट समेत पेश गर्यौं ।

हामीसँग नोभेम्बरसम्मको मात्रै भ्यालिड भएकाले हामीले अलिक जोड गर्यौ । तर मन्त्रीज्यूले निजी क्षेत्रलाई नदिने बरु सरकारले नै ल्याउने भन्ने कुरा भयो । त्यसमा सरकारले आफैले ल्याउने भनेको राम्रो पनि हो ।

त्यसपछि भारत सरकारसँग नेपाललाई १० लाख डोज खोप अनुदान दियो र नेपाल सरकारले थप २० लाख डोज खोप ल्याउनु पर्ने थियो । त्यसमा भारत सरकारले नै स्पेसल प्राइस भनेर दिएको हो । जसमध्ये १० लाख डोज आइसकेको छ भने १० लाख डोज आउनु बाँकी छ ।

त्यसमा के सर्भिस चार्ज १० प्रतिशत दिने कि नदिने भन्ने विषयमा छलफल नभएको होइन । मन्त्रालयमा छलफल भएको हो । त्यसमा हुकुम फार्मेसीलाई नदिने भनेर माइनुट नै गरेको कागज मैले देखेको छु ।

अहिले सरकारले ल्याउन नसकेको कारण कसरी त त्यो भन्नु पर्छ । यसमा हाम्रो कमिसनको खेल केही पनि छैन ।

तर मन्त्रीज्यूको आफ्नै कमजोरी होलान् । सरकार ढल्दैछ भन्ने पनि मनमा भएकाले मैले प्रयास गरेको थिएँ भनेर जनतालाई भन्नु पर्ने होला ।

तर प्रश्न कहाँ छ भने १० लाख डोज ढिलो भएको होला, तर यत्तिले मात्रै सम्पूर्ण जनतालाई त पुग्दैन । त्यसैले प्रश्न के हो भने सम्पूर्ण जनताका लागि खोप ल्याउनका लागि के गर्नु भयो त ?

अहिले हेर्दा प्रधानमन्त्री र मन्त्रीबीच कुरा नमिलेर बाहिर आएको हो भन्ने लाग्छ । अहिले मलाई प्रधानमन्त्रीसँग पनि मेरो नाम जोडेर आएको छ । हिजोका दिनमा बाबुराम भट्टराईसँग पनि हामी नजिक थियौं । बाबुरामको मान्छे पनि भन्थे । सुशील कोइरालासँग नजिक भएर काम गरेका थियौं, गिरिजाबाबुसँग पनि हामी नजिक नै रहेर काम गरेका हौं ।

हृदेयशजी पुरानो राजनीतिज्ञ हो । उहाँले हामीलाई दोष दिएर जनतालाई भ्रमित बनाउने ठाउँ खोज्नु भएको हो कि ? कस्तो खालको मन्त्री हुनुहुन्छ उहाँ ? हामीलाई मन्त्री बनाइदिनु न हामी गर्छौ नि काम ? आफ्नो कमजोरी अरुमाथि पोख्नु दुःखलाग्दो कुरा हो नि ।

यदि मन्त्रीज्यूले हामीमाथि लगाएको आरोप प्रमाणित गर्न खोज्नु भएको छ म मुलुकको जुनसुकै सजाय भोग्न तयार छु । म सम्पूर्ण व्यापारबाट मुक्त हुन पनि सक्छु । हामीले अहिले ज्यान लिन काम अहिलेसम्म गरेको छैन । कोभिडको समस्या समाधानमा हामी काम गर्छौ । नाम कमाउन वर्षौ लाग्छ धन कमाउनु भन्दा निकै ठूलो कुरा हो ।

मलाई उहाँले के आधारमा यो आरोप लगाउनु भएको छ त्यो पनि मलाई थाहा छैन । उहाँसँग आजसम्म भेट पनि भएको छैन । मन्त्री भएपछि एक पटक फोनमा मात्रै कुरा भएको हो । भेट गर्नका लागि पनि बोलाउनु भएको छैन । अचानक यो कुरा कसरी आएको छ मलाई अचम्म लागेको छ ।

यो कमिसनको सन्दर्भमा म वा मेरो परिवारको कोही व्यक्ति संलग्न छ भने म भोलिका दिनदेखि नै सम्पूर्ण व्यापार व्यवसाय छाड्न तयार छु । यदि म यस काममा संलग्न थिए भने आजसम्म मलाई मन्त्रालयमा बोलाएर एक पटक छलफल गरेको छैन । त्यसो गर्नुपर्ने थियो कि थिएन ?

मैले आजका दिनसम्म प्रधानमन्त्रीसँग व्यक्तिगत कुरा राखेको छैन । तत्काली पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मलाई नेपाल भ्रमण वर्षको राष्ट्रिय संयोजक हुँदा प्रधानमन्त्रीसँग नजिक भएका कारणले भएको हो भनेर पनि भ्रम फैलाउने काम भएको छ ।र, खोपको कुरामा हामीसँग नोभेम्बरसम्मको समय थियो । त्यो समयसम्मका लागि नेपाल सरकारले हामीलाई अप्रुभल नै दिएन र आजसम्म पनि ल्याउन सकिएन । अहिले नेपालको कानूनमा २० प्रतिशतभन्दा बढी सर्भिस चार्ज लिन सक्नुहुन्न । र, भ्याक्सिन जस्तो सामानमा बढीमा १० प्रतिशतभन्दा मूल्य लिन पाइन्न । यो हामीले तोकेको होइन, सरकारले नै तोकेको हो । यो १० प्रतिशत भनेको हामीले ल्याउँदा लाग्ने खर्च पनि हो नि कमिसन भनेर बुझ्नु हुँदैन । यसमा नेपाल सरकार आफैले ल्याउँदा त सबैभन्दा राम्रो हो ।

भ्याक्सिनको ६ महिनासम्मको अवधि हुन्छ । यसलाई रिफ्रिजेरेटरमा हाल्नुपर्छ । त्यसलाई जुन प्रकारको खर्च लाग्छ त्यो खर्च पनि यो जाडिन्छ ।

लौ एक पटक नाफाकै कुरा गरौं । त्यो समयमा हामीलाई अप्रुभल दिएको भए ४ डलरमा त आउँथ्यो नि । आजका ४ डलरमा पाउने अवस्था छैन । आज सिरमले पनि दिन सक्दैन र हामीले त्यति ठूलो संख्यामा ल्याउन पनि सक्दैनौं । आज स्पुननिकको १९ देखि २० डलर र मडोनाको ४० डलरसम्ममा कुरा भइरहेको छ ।

तर जे भए पनि भारत सरकारले अनुदानमा दिएको १० लाख र १० लाख किनेर ल्यायो । जुन असाध्यै राम्रो हो । जे भए पनि राम्रो काम भयो । सिरम भन्ने सानो कम्पनी पनि होइन । संसारको ठूलो कम्पनीमध्येको एक हो । सोही कम्पनीको व्यक्तिले नेपाल सरकारलाई फ्याक्ट्रीमा आगो लागेकाले सप्लाइमा केही ढिलाइ हुन्छ भनेर पत्र पठाएको छ । त्यसमा तपाईंले पाउने खोपमा ढिलाइ हुन्छ अन्यथा तपाईंले चाहेमा पैसा पनि फिर्ता लिएर जान सक्नुहुन्छ भनेर पत्र पठाएको छ । जसलाई नेपाल सरकारले आजसम्म पनि उत्तर पठाएको छैन । अहिले पछिल्लो समयमा आएर बिना कारण, बिना प्रमाण मलाई दोष देखाउने मात्रै काम भएको छ ।


क्लिकमान्डु