बट्टाईपालनमा युवा आकर्षित   



बाँके । बाँके जिल्लाको खजुरा गाउँपालिका ­३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ ।

मानबहादुरले व्यावसायिकरुपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन तर उहाँको मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल लिन सफल भएका छन् ।

रक्तिम सांस्कृतिक मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेका मानबहादुर एक कुशल कलाकारका साथै प्रखर वक्ताको रुपमा पनि चिनिनुहुन्छ । अहिले उनको परिचय त्यतिमा मात्र सीमित छैन, एक व्यावसायिक किसानको रुपमा पनि चिन्न थालिएको छ ।

लामो समयदेखि राजनीतिमा लाग्नुभएका मानबहादुरको ध्यान अब आर्थिक उपार्जन गरी समाज परिवर्तनतर्फ सोझिएको छ । राजनीतिमा लाग्नेहरुले पनि उत्पादनमा लाग्नु पर्ने उहाँको धारणा छ ।

आफूले कृषिलाई व्यावसायिक बनाएर लैजाँदै गर्दा आफ्नो घरखर्च जुटाउन सकिने र अरुका लागि पनि उदाहरण बन्ने भएकाले पनि आफू बट्टाईपालनतर्फ लागेको उनले बताए ।

आफ्नै ह्याचरीसहित बट्टाईको चल्ला उत्पादनतर्फ लागेका मानबहादुरले स्थानीय कुखुरा, हाास, टर्की, कडकनाथको पालनलाई पनि विस्तारै बढाउँदै लैजाने उनको तयारी रहेको छ ।

मानबहादुरले पाँच महिनाअघि गाउँघरबाट बट्टाईका माउ र भाले सङ्कलन गरी व्यवसायको शुरुआत गरेका थिए ।

शुरुमा ६०० देखि शुरुवात गरेका उनले पछि ३०० थपेर व्यावसायिक यात्रालाई अघि बढाएका थिए ।  अहिले उनीसँग तीन हजार बढी बट्टाई छन् । दुई चरणमा ५५० वटा बट्टाई त उनले विक्री पनि गरिसकेका छन् ।

एक जोडीलाई रु ३०० मा विक्री गर्न गरेको उनले बताए । बजारको समस्या नभएको उनको भनाइ छ । चल्ला, बयस्कदेखि बट्टाईका अण्डा पनि सहजै विक्री हुने गरेको छ । उनका अनुसार ग्राहकहरु घरमै आएर किन्ने गर्दछन् ।

तीन हजार २४० क्षमता भएको ह्याचरी घरमै रहेकाले पनि चल्ला निकाल्न उनलाई कुनै समस्या छैन । उक्त बट्टाईपालन तथा ह्याचरी सञ्चालनमा हालसम्म रु आठ लाख जति लगानी भइसकेको उनले बताए ।

बट्टाईका चार वटा जातहरु उनीसँग छन् । बट्टाईपालनलाई थप बढाउन युवा नेता तथा किसान मानबहादुरले नयाँ योजना बनाइसकेको र छिटै विभिन्न जिल्लामा यसको उत्पादन पुर्याउने योजना बनाएका छन्  ।  मानबहादुरलाई यो व्यवसायमा परिवारबाट पनि पूर्ण रुपमा सहयोग मिलेको छ ।

उत्पादन दिनहुँ बढ्दै जाँदा बजारको अभाव हुने हो कि भन्ने डर मानबहादुरलाई लागिरहेको छ । छोटो समयमा यति राम्रो व्यवसाय सञ्चालन गर्न सकेकामा उहाँ निकै खुशी देखिन्छन् । उनको घरमा फार्म हेर्न र उत्पादित बट्टाई र अण्डा खरीद गर्न टाढाटाढाबाट पनि मानिस आउने गरेका छन् । बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ ।
बट्टाईपालन शुरु गर्नुअघि नजिकैको ज्ञानोदय नमूना माविमा मानबहादुरले चमेना गृह सञ्चालन गर्दै आएका छन्। गत वर्ष लामो समय कोरोना कहरका कारण बन्दाबन्दी हुँदा विद्यालय पनि नियमित सञ्चालन नभएपछि मानबहादुरले कृषि व्यवसाय रोजेका थिए ।

‘पहिलेदेखि नै यस व्यवसायतर्फ मेरो ध्यान गएको थियो तर कोरोनाले गर्दा यसतर्फ लाग्न प्रेरित गर्यो,’ उनले भने, ‘कोरोना मेरा लागि व्यवसायमा लाग्ने अवसर बन्यो ।’

थोरै लगानीबाट पनि छोटो अवधिमै आम्दानी गर्न सकिने भएकाले अन्य युवालाई पनि उनी यसतर्फ लाग्न प्रेरित गर्छन् ।

‘‘पालेको डेढ/दुई महिनामै बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु घरमै आउँछन्,’ मानबहादुरले भने, ‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गर्न भ्याएको छु ’


क्लिकमान्डु