कर तिर्ने समय ६ महिना थप गर्न साना तथा घरेलु उद्योग महासंघको आग्रह



काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले कर तिर्ने समय कम्तीमा ६ महिना थप गर्न सरकारसँग आग्रह गरेको छ ।

कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालको बेलामा समेत आन्तरिक राजश्व विभागले जसरी भएपनि कर तिर्न आउन भन्नु दुःखद भएको महासंघका अध्यक्ष श्याम गिरीले बताए ।

‘अहिले अरु क्षेत्रजस्तै लघु, घरेलु तथा साना उद्योगी खुल्ला रुपमा हिड्ने र कर तिर्ने अवस्थामा छैनौं । त्यसैले हामी सरकारलाई कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउन अनुरोध गर्दर्छौ,’ गिरीले भने ।

अहिलेको प्रतिकुल अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व र कर्तव्यलाईसमेत बिर्सेर उद्योग व्यवसाय कर्जामा अत्यधिक ब्याज लगाएर उद्यमी व्यवसायीलाई मर्माहत पारिरहेको पनि गिरीले बताए ।

पुनरकर्जाको कार्यविधि खुकुलो बनाउन पनि महासंघको माग छ ।

पुनरकर्जा कार्यविधिमा प्रतिकुल परिस्थितिमा पनि सञ्चालन भएका उद्यम व्यवसायको हकमा यो व्यवस्थालाई खुकुलो गरी गरिनुपर्ने महासंघको भनाइ छ ।

कामदारको न्यूनतम पारिश्रमिक तोक्दा सरकारले एकपक्षीय रुपमा निर्णय गर्नु दुःखद रहेको पनि अध्यक्ष गिरीले बताए ।

‘ट्रेड युनियन, रोजगारदाता र सरकारको बीचमा छलफल चलिरहेको बेला कोभिडको दोस्रो कहर शुरु भई सहमतिमा पुग्न नसकेकै अवस्थामा सरकारले एकपक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकी लागु गर्ने मिति समेत राजपत्रमा उल्लेख गर्नु दुःखद कुरा हो,’ उनले भने ।

श्रमिकको न्यूनतम पारिश्रमिक अधिकतम ७ सय रुपैयाँसम्म बढाउन महासंघ सहमत रहेको पनि अध्यक्ष गिरीले बताए ।


क्लिकमान्डु