माथिल्लो दोर्दी ‘ए’ जेठ अन्तिममा सकिने



लमजुङ । दोर्दी गाउँपालिका-६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ ।

दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको जेठको अन्तिम सातासम्म निर्माणकार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।

यहीहप्ताभित्र टनेलमा पानी हाल्ने तयारी भइरहेको छ । आयोजनाको पावर हाउसमा मेशिनको काम गर्नलाई भारतबाट इन्जिनियर ल्याउने प्रक्रियामा रहेको उनको भनाइ छ ।

यस आयोजनाले यसअघि गत चैत महिनासम्म निर्माणकार्य सम्पन्न गर्दै विजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । कोभिडका कारणले आयोजनामा प्रभाव पारेकाले निर्माणकार्यमा ढिलाइ भइरहेको साथै जिल्लामा १२० केभी प्रसारण लाईनको निर्माण कार्य सम्पन्न भइनसकेकाले समेत विद्युत उत्पादनमा ढिलाइ हुनपुगेको आयोजना प्रवद्र्धक वस्तीको भनाइ छ ।

आयोजना ३ अर्व ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य थियो । तर, निर्माण अवधि लम्बिँदै जाँदा ४ अर्ब ६४ करोड खर्च हुने अनुमान गरिएको आयोजनाको भनाइ छ । उक्त अवधिमा पनि अझै कोभिडको प्रभाव भएर समय थप भएमा आयोजनाको लागत बढ्न सक्ने आयोजना प्रवद्र्धक वस्तीले बताए ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच भएको सम्झौताअनुसार सुक्खा याममा रु आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गरिने छ ।


पुष्प दुलाल