नेपालमै पहिलो पटक पोखरामा शुरु हुँदैछ ‘स्काइ डाइभिङ’, खर्च प्रतिव्यक्ति ९० हजार



काठमाडौं । नेपालमा पहिलो पटक नेपालीहरुले पोखरामा ‘स्काइ डाइभिङ’ गर्न पाउने भएका छन् ।

नेपालीहरुले अब पोखरा नजिकैका हिमाल, पहाड, ताल, बस्ती र हरियाली जंगल अवलोकन गर्दै पोखरामै स्काइ डाइभिङ गर्न पाउने व्यवस्था गरेको कम्पनी हो, ‘बोन होलिडेज’ ।

कम्पनीले यही मे १२ देखि मे १७ तारिखसम्म पहिलो चरणमा ६ दिन स्काइ डाइभिङ गराउन लागेको हो । बोन होलिडेज विगत १२ वर्षदेखि ट्राभल व्यवसायमा सक्रिय कम्पनी हो ।

कम्पनीका जनरल म्यानेजर सागर खनालका अनुसार हाल नेपाली र भारतीय पर्यटकलाई लक्षित गरी पोरखामा स्काइ डाइभिङ शुरु गर्न लागिएको जानकारी दिए ।

कोरोना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रमा पर्यटकीय नगरी पोखरामै अर्को पर्यटकीय प्रडक्ट थपिनु आफैमा सकारात्मक पाटो हो । पछिल्लो समय पोखरामा बञ्जिजम्प, जिपफ्लाइङ तथा केबलकारसँगै स्काइ डाइभिङ पनि थपिन लागेको हो ।

खनालका अनुसार यसका लागि कम्पनीले काठमाडौंदेखि पोखरासम्म जानदेखि स्काइ डाइभिङसम्मको प्याकेज तयार पारेको छ । जसमा स्काइ डाइभिङका लागि मात्रै प्रतिव्यक्ति ९० हजार रुपैयाँ खर्च लाग्नेछ ।

तर कम्पनीले ९० हजार रुपैयाँलाई मासिक किस्ताबन्दीमा पनि बुझाउन सकिने गरी व्यवस्था मिलाएको छ ।

‘यदि कसैलाई ९० हजार रुपैयाँ खर्च गर्न गाह्रो हुने अवस्था आयो भने बैंकसँगको सहकार्यमा १८ महिनासम्म मासिक ५ हजार ५ सय रुपैयाँ किस्ता तिरेर पनि स्काइ डाइभिङ गर्न सकिने व्यवस्था मिलाएका छौं,’ खनालले भने ।

स्काइ डाइभिङ गर्दा प्रत्येक व्यक्तिको १० हजार डलर बराबरको बीमा गरिएको खनालले जानकारी दिए ।

‘नेपालीहरु स्काइ डाइभिङ गर्नका लागि सबैभन्दा नजिकको गन्तव्य दुबई हो, दुबईमा गएर स्काइ डाइभिङसहित सम्पूर्ण खर्च हेर्दा प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँसम्म पर्छ, तर हामीले नेपालमै ९० हजार रुपैयाँमा उक्त सुविधा दिन लागेका छौं,’ खनालले क्लिकमाण्डूसँग भने ।

बोन होलिडेजबाट मात्रै गत वर्ष १५० जनाले दुबईमा स्काइ डाइभिङका लागि प्याकेज लिएका थिए । तर अब पोखरामै स्काइ डाइभिङको सेवा उपलब्ध भएसँगै नेपालीहरुलाई दुबई गएर स्काइ डाइभिङ गर्नुपर्ने बाध्यता समेत हट्नेछ ।

कम्पनीले शुरुको चरणमा ६ दिनका लागि मात्रै र पछि अवस्था हेरेर तय गर्नेछ । कम्पनीले आगामी दिनमा एभरेष्ट लगायतका स्थानमा समेत स्काइ डाइभिङका लागि योजना बनाएको छ ।

उनका अनुसार स्काइ डाइभिङका लागि हाल बुकिङ खुला भइसकेको छ भने केहीले बुकिङ समेत गरिसकेका छन् । बुकिङ गर्दा एड्भान्स पेमेन्टवापत आधार रकम अर्थात् ४५ हजार रकम शुरुमै बुझाउनु पर्ने हुन्छ ।

‘अहिले बुकिङ शुरु भइसकेको छ । विशेषगरी शनिबारको दिनमा बुकिङको चाप बढी छ,’ उनले भने ।

कम्पनीले फिस्टेल एयरको हेलिकप्टरबाट १५ हजारदेखि २० हजार फिट माथिबाट स्काइ डाइभिङ गर्ने व्यवस्था गरेको छ ।

जसमा कम्पनीले प्रत्येक दिन ४० जनासम्मले स्काइ डाइभिङ गर्न सक्ने जानकारी दिएको छ । यस अनुसार पहिलो चरणको ६ दिनमा २४० जनासम्मले स्काइ डाइभिङ गर्न सक्नेछन् ।

हेलिकप्टरबाट स्काइ डाइभिङ गरिने हुनाले एक पटकमा १ जना वा बढीमा २ जनाले मात्रै स्काइ डाइभिङ गर्न सक्नेछन् ।

‘हेलिकप्टरबाट स्काइ डाइभिङ गर्नुपर्ने भएकाले धेरै जना अटाउन सक्दैनन्, पाइलट, ड्राइभर र भिडियो खिच्ने मानिस पनि सँगै हुने भएकाले १ देखि बढीमा २ जनाले मात्रै एक पटकमा स्काइ डाइभिङ गर्न सक्छन्,’ उनले भने ।

उनका अनुसार स्काइ डाइभिङका लागि दुबई तथा अमेरिकाबाट जनशक्ति ल्याइनेछ ।

नेपालमा यसअघि पनि ४३ जना विदेशीहरुले पोखरामै स्काइ डाइभिङ गरिसकेको हुनाले पोखरामा स्काइ डाइभिङको सम्भावना भएकै आधारमा कम्पनीले उक्त प्याकेज ल्याएको हो ।


क्लिकमान्डु