सिमेन्टमा चौधरी ग्रुप ‘बिग प्लेयर’को रुपमा आउदै, साढे ३ अर्बमा सम्राटको सेयर किन्यो



काठमाडौं । सिमेन्ट उद्योगमा बिग प्लेयरको रुपमा व्यवसायिक घराना चौधरी ग्रुप आउने भएको छ ।

अहिले चौधरी ग्रुपले नवलपरासीमा सिजी ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । अरु उद्योगसँग क्लिङकर किनेर सिजी ब्राण्डमा सिमेन्ट उद्योग चलाएको चौधरी ग्रुपले पाल्पामा क्लिङकर उद्योग सहितको सिमेन्ट उद्योग संचालनमा ल्याउने तयारी गरेको छ ।

दाङको सम्राट सिमेन्टमा रहेको ३० प्रतिशत सेयर चौधरी ग्रुपले किनेको छ । करिब ३ अर्ब रुपैयाँमा चौधरी ग्रुपले सम्राट सिमेन्टको सेयर किनेको हो । स्रमाट सिमेन्टका मुकुन्दप्रसाद तिमिल्सिना सहितको टोली चौधरी ग्रुपलाई सेयर बिक्री गरेर बाहिरिने भएको हो ।

चौधरी ग्रुपले किन्न लागेको सम्राट सेयरको खरिदबिक्री सम्झौता लगायतका कानूनी प्रक्रिया भने बाँकी छन् । चौधरी ग्रुपले स्रमाटको बहुमत सेयर नै किन्न खोजेको छ । डिल मिलेमा बहुमत सेयर किन्ने तयारी चौधरी ग्रुपको छ । सम्राट सिमेन्टमा १६ अर्ब रुपैयाँ लगानी छ । सम्राटमा अब चौधरी ग्रुपपछि सबैभन्दा बढी लगानी अनिल रुगंटाको हुने छ । तिमिल्सिना र रुगटाको विवादपछि तिमिल्सिना आफ्नो नाममा भएको सेयर चौधरीलाई बिक्री गरेर बाहिरिन लागेका हुन् ।

चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौडेल चौधरी ग्रुप सिमेन्ट उद्योगमा ठूलो प्लेयर बन्ने उद्देश्यले लगानी थपेको बताए ।

‘सम्राट सिमेन्टमा लगानी गरेपछि चौधरी ग्रुपको लगानीबाट मात्र दैनिक ९ हजार टन सिमेन्ट उत्पादन हुने छ,हामी दीर्घकालिन व्यवसायको दृष्टिकोणमा सिमेन्ट उद्योगमा प्रवेश गरेका हौ,’पौडेलले भने ।

चौधरी ग्रुपले नवलपरासी र पाल्पमा रहेको उद्योगबाट उत्पादन हुने सिमेन्ट सिजी ब्राण्डबाट बजारमा ल्याउने छ । पाल्पाको रिब्दिकोट गाउँपालिका देउरालीमा आगामी असोजदेखि उद्योग संचालनमा आउने छ । जसबाट नवलपरासीको उद्योगलाई चाहिने क्लिङकरको आपूर्ति हुने छ । चौधरी ग्रुपले पाल्पामा खानी भएको ठाउँमा नै क्लिङकर उद्योग लगाएको छ ।

सम्राट सिमेन्टमा प्रवेशपछि सिजी स्रमाटको नामबाट सिमेन्ट उत्पादन गर्ने छ ।

सिमेन्ट उद्योगमा पछिल्लो समय निकै ठूलो लगानी थपिएको छ । प्रमुख व्यवसायिक घरानाले ठूलो लगानी सिमेन्ट उद्योगमा गरेका छन् । सिमेन्ट उत्पादकहरु मागभन्दा बढी आपू्र्ति हुने गरेर सिमेन्ट उद्योगमा लगानी भएको बताउँछन् ।


क्लिकमान्डु