नेपाल टेलिकमको स्प्रिङ अफर, यस्ता छन् डाटा प्याक र सेवा सुविधा



काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा उपभोक्ताहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिने छन् । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको हो ।

नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल उपभोक्ताका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जीबी डाटाको अफर २९९ रुपैयाँमा उपलब्ध गराइएको छ ।

स्प्रिङ अफर अन्तर्गत नै उपभोक्ताहरुको सुविधालाई ध्यानमा राखी १२५ रुपैयाँमा सबै नेटवर्कमा १ जीबी र फोरजी नेटवर्कमा थप ३ जीबीगरी ४ जीबी डाटा अफर ल्याइएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४ सै घण्टा प्रयोग गर्न सकिन्छ ।

साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको छ । यो अफर २४सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ ।

नयाँ वर्षको अवसरमा कम्पनीका जीएसएम मोबाइल उपभोक्ताका लागि २८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जीबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसैगरी डाटा प्याक अन्तर्गत नै जम्मा ९५ रुपैयाँमा १.५ जीबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ ।

सीडीएमए मोबाइल र वाइम्याक्स सेवाका उपभोक्ताहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेको छ । ती सेवाका उपभोक्ताका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि उपभोक्ताले स्टार१४१५ह्यास डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।


क्लिकमान्डु