अरुणिमा र उरुषा श्रेष्ठलाई समिट वुमन अफ दि इयर अवार्ड



काठमाडौं । होटल समिटले बुधबार ‘समिट वुमन अफ दि इयर २०२१’ अवार्ड वितरण गरेको छ ।

व्यवसायमा सफल र समाजमा सकारात्मक प्रभाव पारेका ३० वर्षभन्दा मुनिका महिलाको सम्मानका लागि ‘सीजी हस्पिटालिटी’अन्तर्गतको होटल समिटले महिलाहरूलाई अवार्ड दिएको हो ।

उद्यमशीलतामा प्रवेश गर्दै गरेका महिलाहरूलाई विभिन्न सामाजिक, राजनीतिक, आर्थिकलगायत व्यवहारिक बाधा–अड्चनबीच कसरी सफलता हासिल गर्न सकिन्छ भनेर उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल समिटले जनाएको छ ।

अवार्डका लागि १७० आवेदन परेका थिए, जसमा २६ सर्टलिस्ट भएका थिए ।

तीमध्ये जया राजभण्डारी (ट्वीङ्कल्स), यजश्वी राई (लेकलेख द ग्रिन वेभ), अरुणिमा श्रेष्ठ र उरुषा श्रेष्ठ (टिट्टोफ्रिट्टो फुड्स), अदिती गोयल (लर्न इन्फिनिटी) र विनीता पोखरेल (प्योर जोय) अन्तिम ५ मा छनोट भएका थिए ।

‘टिट्टोफ्रिट्टोफुड्स’का जुम्ल्याहा दिदीबहिनी अरुणिमा श्रेष्ठ र उरुषा श्रेष्ठलाई ‘समिट वुमन अफ दि इयर २०२१’ घोषणा गरिएको थियो । ‘टिट्टोफ्रिट्टोफुड्स’ स्थानीय कृषिउपज प्रशोधन गर्ने स्टार्टअप हो ।

अवार्ड निर्णायकमा नबिल बैंकका सीईओ अनिलकेशरी शाह, होटल एसोसिएसन अफ नेपाल (हान)की अध्यक्ष सिर्जना राना, आईडीईका नेपाल निर्देशक कोरे ओ’ हारा र गोल्डस्टारकी मार्केटिङ/डिजाइन निर्देशक विदूषी राणा थिए ।

निर्णायकमण्डलले चैत १० गते छनोट गरे पनि १८ गते (बुधबार) घोषणा गरिएको हो । अवार्ड घोषणापछि सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक/सीईओ राहुल चौधरीले प्रतिभावान महिलाहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।


क्लिकमान्डु