ग्लोबल आइएमई बैंक र बोधि होल्डिङबीच सम्झौता सम्पन्न



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ प्रालिबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङ प्रालिका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरे ।

उक्त समझदारी अनुसार बैंकले बोधि होल्डिङ प्रालिले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माण परियोजना मार्फत् घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।

यसका साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ प्रालिले निमार्ण गर्ने परियोजनाको बैकिङ पार्टनरका रुपमा पनि रहने छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु