तिलोत्तमामा एकीकृत आवास बन्दै, चैत मसान्तसम्म बुकिङ गर्नेलाई १५ लाखसम्म छुट



काठमाडौं । रुपन्देहीको तिलोत्तमामा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा एकीकृत आवास विकास परियोजना ‘तिलोत्तमा होम्स्’को निर्माण शुरु भएको छ ।

पछिल्लो समय रुपन्देही पनि आधुनिक सहरमा परिणत हुँदै गएकाले बसोबासलाई व्यवस्थित गर्ने उद्देश्यले एकीकृत आवास परियोजना शुरु गरेको जनाएको छ ।

लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले शुरु गरेको उक्त परियोजनामा सुविधासम्पन्न १२३ वटा आवास बनाउने गरी परियोजना शुरु गरेको होम्स्का अध्यक्ष नेत्रलाल बनले जानकारी दिए ।

विगतको दिनमा तिलोत्तमा, भैरहवा, बुटवलमा जग्गा कारोबार गर्दै आएको उनले पछिल्लो समय आधुनिक शहरमा विकास हुँदै गएपश्चात एकीकृत आवासको आवश्यकता देखिएकाले एकीकृत आवासको परियोजना शुरु गरेको बताए ।

‘अहिले तिलोत्तमा, बुटवल, भैरहवा आधुनिक शहर बन्दै गएको अवस्था छ । साथै यी क्षेत्रमा अव्यवस्थित बसोबासले समस्या निम्त्याएको हुनाले यसलाई व्यवस्थित गर्न आयोजना शुरु गरेको हो,’ उनले भने ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडकखण्डको भलबारी चोकदेखि १४ सय मिटर पूर्वतर्फ ७ बिघा क्षेत्रफलमा १२३ वटा घर बनाउने भएको हो ।

करिब दुई महिना अघिबाट निर्माण शुरु भएको उक्त परियोजनामा दुई समूहका आवास बन्ने अध्यक्ष बनले बताए । उनका अनुसार निर्माण भइरहेको आवास ‘ए’ र ‘बी’ समूह गरी दुई थरीको घर निर्माण हुने बताए । यी दुुई प्रकारका घर साढे दुई तलाको बन्ने भएको छ । तर, ‘ए’ र ‘बी’ समूहमा बनेको आवासको मूल्य छुट्टाछुट्टै तोकिएको बनको भनाइ छ ।

यस्तो छ घरको मूल्य
तिलोत्तमामा निर्माण भइरहेको घरहरू दुई प्रकारका बन्नेछन् । जसमा दुई थरीको घरका लागि ‘ए’ र ‘बी’ ब्लकमा छुट्टाइएको छ । उक्त निर्माण भइरहेको दुबै प्रकारको घर साढे दुई तलाको बन्ने बनले बताए । तर, क्षेत्रफल भने फरक भएकाले दुई वटा समूहमा विभाजन गरेको बनले जानकारी दिए ।

उक्त निर्माण भइरहेको ‘ए’ समूहमा ३९ वटा घर बन्नेछ भने ‘बी’ समूहमा ८४ वटा घर बन्नेछन् । जसमा ‘ए’ समूहको घर १४ धुर जग्गामा २९ सय स्क्वायर फिटको क्षेत्रफलमा बन्नेछ । उक्त क्षेत्रफलमा बनेको घरको मूल्य २ करोड ५० लाख तोकेको बनले बताए ।

त्यस्तै, बी समूहमा बन्ने घर १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने जनाएको छ । बी समूहमा निर्माण भएको घरको मूल्य भने १ करोड ७५ लाख तोकेको उनको भनाइ छ । यी दुई समूहका घरको क्षेत्रफलमा फरक भए पनि सुविधा भने सबै एकै खालको हुने उनको जिकिर गरे ।

एकीकृत आवासमा यस्तो हुनेछ सुविधा
बनका अनुसार तिलोत्तमामा बन्दै गरेको घरमा एकीकृत आवासमा हुने सम्पूर्ण सुविधा उपलब्ध हुने जनाएको छ । जसमा २६ फुट मूल बाटो तथा २४ फुटको सहायक बाटो रहने गरी नेपाल सरकारको सहरी विकास मापदण्ड अनुसार भूकम्पप्रतिरोधी घर निर्माण गरिने बनले बताए ।

यस्तै, उक्त निर्माण भइरहेको एकीकृत आवासमा खेल मैदान, सपिङ कम्प्लेक्स, बाल उद्यान, जिमखाना, स्वीमिङ पूल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुरेन्ट, सैलुन तथा मन्दिरसमेत सुविधा हुनेछ ।

चैतसम्म बुकिङ गर्नेलाई १५ लाखसम्म छुट
तिलोत्तमामा निर्माण भइरहेको आवासको हालसम्ममा करिब १५ वटा आवासको बुकिङ भइसकेको उनले जानकारी दिए । उनका अनुसार विभिन्न क्षेत्रका आबद्ध भएका व्यक्तिहरू दिन प्रतिदिन बुझ्ने, घुम्नेलगायत किन्नका लागि जानकारी लिनेका संख्या बढ्दै गएको बताए ।

यस्तै, प्रालिले बुकिङ खुल्ला गरेदेखि चैत मसान्तसम्ममा बुकिङ गर्ने व्यक्तिका लागि विशेष अफर दिने भएको छ । बनका अनुसार चैत मसान्तसम्ममा बुकिङ गर्ने व्यक्तिहरू दुई समूहको घरका लागि छुट्टाछुट्टै छुटको व्यवस्था गरेको छ ।

जसमा २ करोड ५० लाख रुपैयाँ मूल्य पर्ने आवास बुकिङ गर्नेलाई १५ लाख र १ करोड ७५ लाख रुपैयाँ मूल्य पर्ने आवास बुकिङ गरेको अवस्थामा १० लाख छुट दिएको उनले बताए ।

निर्माण भइरहेको तिलोत्तमा होम्स्का सम्पूर्ण कार्य ३ वर्षमा सक्ने लक्ष्य लिएको छ । हाल दैनिकरुपमा १०० भन्दा बढी कामदार आबद्ध भएको यस परियोजना ३ वर्षमा कार्य सम्पन्न गरी घरधनीलाई वितरण गर्ने उनले जानकारी दिए ।


क्लिकमान्डु