राजा महेन्द्र र रानी रत्नको डेटिङ स्पट ७० वर्ष पुरानो ‘जय नेपाल’ सिनेमा हल बन्द हुँदै



काठमाडौं । राजधानीमा सञ्चलित पुराना सिनेमा घरमध्ये सबैभन्दा पुरानोमध्येको एक ‘जय नेपाल’ सिनेमा हल बन्द हुने अवस्थामा पुगेको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको जय नेपाल हलले सञ्चालन खर्च धान्न नसक्ने अवस्था आएपछि बन्द गर्ने निर्णय गरिएको सञ्चालक निर्मल प्रधानले जानकारी दिए ।

२०५५ सालदेखि क्यूएफएक्स अन्तर्गत सञ्चालनमा रहेको यो सिनेमा हल २००९ सालमा स्थापना भएको हो । एउटा मात्रै पर्दा रहेको जय नेपाल सिनेमा हल सिनेमाप्रेमीका लागि प्रख्यात गतव्यमध्येको एक हो ।

सिनेमा हल २००९ सालमा स्थापना हुँदा तत्कालीन समयमा धार्मिक हिन्दी चलचित्र देखाइन्थ्यो । राजदरबारको छेउमा भएकाले यो सिनेमा हल राजा महेन्द्र र रानी रत्नराज्य लक्ष्मीको डेटिङ स्पटका रुपमा समेत प्रख्यात रहेको सञ्चालक प्रधान बताउँछन् ।

महेन्द्रकि पहिली श्रीमती रानी इन्द्रराज्य लक्ष्मीदेवीकोे निधनपछि राजा रत्नराज्य लक्ष्मीसँग नजिकिएका थिए । तत्कालीन समयमा उनीहरु यही सिनेमा हलमा फिल्म हेर्न आउने गरेको प्रधानको भनाइ छ ।

तर प्रधानले २०४२ सालदेखि र क्यूएफएक्सले व्यवस्थापनको जिम्मा २०५५ सालपछि मात्रै लिएको थियो ।

कुल ६० आना क्षेत्रफलमा फैलिएको जय नेपाल सिनेमा हलले कोरोनाको कहरमा सञ्चालन हुन सकेन् । करिब ४५ जना कर्मचारी कार्यरत सिनेमा हलमा कर्मचारीलाई नै पारिश्रमिक भुक्तानी गर्न धौधौ पर्ने अवस्था सिर्जना भए पछि व्यवस्थापकहरुले तत्कालका लागि बन्द गर्ने योजना बनाएको प्रधानले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘कोरोना महामारीका कारण सिनेमा हल बन्द भयो, कर्मचारीको पारिश्रमिकमा साढे २ करोडभन्दा बढी खर्च भयो तर आम्दानी हुन सकेन, जसका कारण तत्कालका लागि बन्द गर्नुपर्ने अवस्था आयो,’ प्रधानले भने ।

जय नेपाल सिनेमा हल उभिएको जग्गा राणाहरुको हो । स्वर्गीय गन्धर्व शमशेर राणाको नाममा रहेको जग्गाको ९ जना अंशियार छन् । प्रधान र उनको समूहले सिनेमा हलको व्यवस्थापनको जिम्मा लिएपछि प्राप्त नाफाको केही हिस्सा राणाको परिवारलाई बुझाउँदै आएका थिए ।

जय नेपाल सिनेमा हलमा नेपाली चलचित्र चलाए वापत ५० प्रतिशत नाफा हलको र हिन्दी र अंग्रेजी सिनेमा वापतको ५० प्रतिशत वितरकलाई दिइसकेपछि हुने आम्दानीमा कर कटाएर हुने नाफाबाट राणाको परिवार तथा क्यूएफएक्सको टिमले लिँदै आएको प्रधानले बताए ।

प्रधानका अनुसार हाल उक्त जग्गाको मूल्य प्रतिआना साढे २ करोड रुपैयाँ छ । जस अनुसार हाल उक्त जग्गाको मूल्य १ अर्ब ५० करोड रुपैयाँ बराबरको छ ।

तर प्रधान जय नेपाल सिनेमा हल सधैका लागि बन्द नहुने भन्दै आगामी साउनसम्म पनि बिक्री नभएमा नयाँ संरचना निर्माण गरेर पुनः सञ्चालन गर्ने वैकल्पिक योजना रहेको बताउँछन् ।


क्लिकमान्डु