बुटवलमा स्थापित शाइन रेसुङ्गा काठमाडौं प्रवेश गर्दै, ब्राण्ड जोगाएर अघि बढ्छौं: सीइओ पौडेल



बुटवल । बुटवलमा आफ्नो ब्राण्ड बनाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक काठमाडौंमा प्रवेश गर्ने भएको छ । राष्ट्रिय स्तरको विकास बैंक बनेको एकवर्षपछि शाइन रेसुङ्गा काठमाडौंमा शाखा बिस्तार गर्न लागेको हो ।

अहिले ८ वटा राष्ट्रिय स्तरका विकास बैंक छन् । जसमा शाइन रेसुङ्गाको मात्र काठमाडौं बाहिर केन्द्रीय कार्यालय छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले काठमाडौं, पोखरा, धनगढी र महेन्द्रनगरमा शाखा बिस्तार गर्ने जनाएको छ । शाइन रेसुङ्गाका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल आफ्नो ब्राण्ड नै जोगाएर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अगाडि बढ्ने बताउँछन् ।

‘१२ वर्षको यात्रामा मर्जर र एक्विजेशन गरेर शाइन रेसुङ्गा अहिलेको स्थितीमा आइपुगेको हो, यही ब्राण्डलाई अगाडि लिएर हामी अगाडि बढ्ने योजना बनाएका छौ,’  पौडेलले क्लिकमाण्डूसँग भने ।

३३ अर्ब निक्षेप तथा ३० अर्ब कर्जा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अहिले ४ लाख ग्राहक छन् । १२ जिल्लामा गरेर ७० वटा शाखा रहेको छ ।

वाणिज्य बैंकसँग मर्जरमा नजाने र आफ्नै ब्राण्डलाई अगाडि बढाउने योजना बनाएको बताउँदै सीइओ पौडेलले डिजिटल बैंकिङमा फोकस हुने बताए ।

‘कोरोना भाइरसको संकट आउनु अगाडि हामीले आक्रामक ढंगबाट शाखा बिस्तार गर्ने योजना बनाएका थियौ, अब हामीले जस्तो शाखा बिस्तार गर्ने योजना छैन,’  पौडलले थपे ।

सबै स्थानमा शाखा पुर्याउनेभन्दा पनि निश्चित स्थानमा सन्तुष्ट हुने वित्तीय सेवा दिने आफूहरुको लक्ष्य रहेको पौडेलको भनाइ छ । वाणिज्य बैंकहरुबाट मर्जरको प्रस्ताव आएपनि बैंकका लगानीकर्ताको राय शाइन रेसुङ्गाको पहिचान जोगाएर अगाडि बढ्नुपर्ने रहेको भन्दै त्यही अनुसार बैंक अगाडि बढेको बताए ।

‘राष्ट्रिय स्तरको विकास बैंक भएपछि हामीले पहिलो पटक काठमाडौं उपत्यकामा शाखा खोल्न लागेका छौ, पोखरा तथा सुदुरपश्चिमको महेन्द्रनगर र धनगढीमा खोल्ने छौ,’ पौडेलले भने ।

बैंकले यो आर्थिक वर्षभित्रमा १० वटा शाखा थप्ने छ । डिजिटल बैंकिङको फोकसका लागि बैंकले डिजिटल साक्षरता अभियानलाई सञ्चालन गर्ने जानकारी पौडेलले दिए ।


क्लिकमान्डु