नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई ५ लाख सहयोग   



ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई ५ लाख रूपैयाँ आर्थिक सहयोग गरेका छन् । आगलागी क्षेत्रको निरीक्षणपछि बिस्थापित परिवारका लागि आज उनले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गरे ।

सो अवसरमा उनले आगलागीपीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताए । यस्तै तीनवटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरूको समन्वयमा आगलागीबाट हुने क्षतिको न्यूनीकरणका लागि आवश्यक योजना बनाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच प्रदेशसभा सदस्य होमकुमारी सावाँ लिम्बूले समेत आगलागीपीडित परिवारका लागि नगद रु ५० हजार सहयोग गर्नुभयो । गत मङ्गलबार भएको आगलागीबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका साथै व्यक्तिहरूद्वारा राहत वितरण गरिको छ ।


क्लिकमान्डु