प्रधानमन्त्रीका लागि कसैलाई प्रस्ताव गर्दैनौं, विप्लवप्रतिको विश्वास १० वर्ष पुरानोः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र आफूबीच एक अर्काप्रतिको विश्वास १० वर्ष अगाडिदेखि कै भएको बताए ।

भूमिगत जीवन बिताइरहेका विप्लव शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक भए । सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले १० वर्ष अघि नै आफूहरुले घण्टौ राजनीतिक विषयमा कुरा गरेको स्मरण समेत गरे ।

उनले सरकार र विप्लवबीच भएको ३ बुँदे सहमतिले धेरै अर्थ बोकेको बताए ।

‘धेरै लेखिराख्नु पर्दैैन, ३ बुँदामा सबै कुरा समेटिएको छ,’ उनले भने ।

उनले विप्लवलाई नयाँ राजनीतिमा स्वागत गर्दै भने, ‘विप्लवजीलाई नयाँ राजनीतिमा पौडी खेल्न आउँछ भन्ने मलाई थाहा छ ।’

उनले गत वर्ष आफूले पृथकतावादी सीके राउतलाई समेत शान्तिपूर्ण राजनीतिमा ल्याएको स्मरण समेत गरे ।

उनले अहिले सरकार ढाल्नका लागि निकै प्रयास भएको बताउँदै केही समूहहरु आफूले नेतृत्व लिन छाडेर अरुलाई प्रधानमन्त्री खाइदिनुस न भन्दै किस्तीमा टक्राइरहेको बताए ।

उनले आफूहरु कसैलाई प्रधानमन्त्री बन्नका लागि प्रस्ताव नगर्ने समेत स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अब मुलुक शातिपूर्ण युगमा प्रवेश गरेको बताए । उनले कसैलाई होचो नदेखाइ देश विकासमा अगाडि बढ्नु पर्ने बताए । उनले नेपाल शान्तिको उचाइमा पुगेको बताए ।

नेपालको कम्युनिष्ट आन्दोलनमा भएका उतारचढाव भएको बताए । आफूले पनि ४० वर्ष अघि यस्तै आन्दोलन गरेर शान्तिपूर्ण राजनीतिमा आएको बताए ।

‘हामीले शान्तिपूर्ण राजधानीमा आएको २०३० साल तिर हो, तर त्यसलाई एडप्ट गर्नका लागि ७ वर्ष लाग्यो, एउटाबाट अर्कोमा जान सजिलो छैन,’ उनले भने, ‘तर आजको परिघटनाले विश्वको कम्युनिष्टलाई कसरी शान्तिपूर्ण ढंगले सार्थकता प्रदान गर्न सक्छ भन्ने प्रमाणित गरेको छ ।’

उनले आफूहरु असल मनसायका साथ नजिकिएको समेत बताए ।

उनले विकास, निर्माणका काममा, भ्रष्टाचार विरुद्धका काममा समेत सफल सरकार भएको दावी समेत गर्न भ्याए । उनको यो दावी केन्द्रीय तथ्यांक विभागले आर्थिक वृद्धिदर नकारात्मक भएको तथ्य सार्वजनिक गरेको भोलिपल्ट यस्तो जिकिर गरेका हुन् ।

उनले ५ वर्षभित्र बारा, पर्सा, रौतहट सर्लाहीको जमिन सिँचाइका लागि सुनकोसी मरिण शिलन्यास गरेको बताए । उनले उक्त योजना ५ वर्षपछि सम्पन्न हुने समेत उनले दावी गरे ।


क्लिकमान्डु