मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छाैंः मन्त्री अर्याल



काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छिन् ।

आज (बिहीबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

‘हामीलाई शंका थियो । यसमा सफलता प्राप्त ग¥यौं । मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौं,’ मन्त्री अर्यालले भनिन् ।

तत्कालीन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती र दीर्घकालीन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अगाडि बढेको बताइन् । मलको समस्या रहिरहन नदिन ७ वटै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उनको भनाइ थियो ।

अनुमानको आधारमा मलको आपुर्ती नभएर तथ्य र आवश्यकताका आधारमा गर्नेगरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उनले बताइन् ।

‘मलको आपुर्ती अनुमानको आधारमा होइन तथ्य र आवश्यकताको आधारमा गर्नेगरी त्यहाँको प्रदेशहरुसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ । त्यसको आधारमा प्रबन्ध गरिनेछ,’ उनले भनिन् ।

यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेटमध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने रहेको मन्त्री अर्यालले बताएकी छन् ।

जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइ सकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा छ । गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल बिक्री भएको थियो ।

यस आवको आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ । पछिल्ला ३ वर्षहरुको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ ।

जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पुर्ती हुने देखिन्छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधीमा करिब ३ लाख मेट्रिक टन मल आपुर्तीका लागि यहि महिनाबाट आयात प्रक्रिया शुरु गरिने मन्त्री अर्यालले बताइन् ।


क्लिकमान्डु