नेपालीलाई पनि मलेसियाको सामाजिक सुरक्षा योजनाको सुविधा, मृतकका परिवारलाई आजीवन भत्ता



काठमाडौं । मलेसियामा कार्यरत नेपालीहरुलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा समेट्नका लागि दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाली श्रमिकहरूलाई मलेसियाको सामाजिक सुरक्षा संस्था सोसल सेक्युरिटी अर्गनाइजेसन (सोक्सो)मा सूचीकृत गराउने सम्झौता भएसँगै नेपालीहरू सामाजिक सुरक्षाको दायरामा समेटिने भएको हो ।

हस्ताक्षरपत्रमा नेपालको तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ र सोक्सोको प्रमुख कार्यकारी अधिकृत (सिइओ) दातो डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गरेका छन् । जसमा श्रेष्ठले नेपालमा गत फागुन ४ गते र मोहम्मदले मलेसियामा फागुन १४ गते हस्ताक्षर गरेको जनाएको छ ।

नेपाली राजदुतावास क्वालालम्पुरको सकृयतामा समझदारीपत्रको मस्यौदा उपर विभिन्न चरणमा छलफल भएपश्चात तयार भएको अन्तिम मस्यौदालाई सरकारले गत माघ २६ गते मन्त्रिपरिषद्को बसेको वैठकले स्वीकृति गरेको थियो ।

विश्वव्यापी कोभिड–१९ को संक्रमणका परिदृष्यमा पत्रको आदानप्रदान मार्फत काठमान्डौं र क्वालालम्पुर दुवै स्थानमा गरी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

योजनामा के-के छन् सुविधा
सोक्सोमा आवद्ध भइसकेपछि नेपाली श्रमिकले विभिन्न प्रकारका सुविधा पाउनेछन् । जसमा आबद्ध भएका श्रमिकको लागि रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनुपर्ने हुन्छ ।

सोक्सोमा आवद्ध भएका विदेशी श्रमिकहरुले इम्प्लोइमेन्ट इन्जुरी सेम फर फरेन वर्कर नामको योजनामा सामेल हुन पाउँछन् । यस योजना अन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा सो वापत तोकिएको क्षतिपूर्ति प्राप्त हुनेछ ।

यस योजना बमोजिम प्राप्त हुने लाभहरुलाई स्वास्थ्य लाभको अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ, आश्रित लाभ, निरन्तर उपस्थिति भत्ता, अन्त्येष्टि खर्च र पुर्नस्थापना सुविधा गरी वर्गीकरण गरिएको छ ।

त्यस्तै, उल्लेखित लाभहरु कतिपय श्रमिक स्वयम्, कतिपय श्रमिकका परिवार तथा श्रमिकको रोजगारदातालाई उपलब्ध हुने प्रकृतिका छन् । श्रमिकका परिवारले प्राप्त गर्ने लाभहरुका निम्ति सोक्सोले परिवारको लगत अद्यावधिक गर्ने कार्य पनि गरिरहेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

दुर्घटना तथा बिरामी हुँदा निशुल्क उपचार
सोक्सोमा आबद्ध भएका श्रमिक कुनै कारणवश कार्यस्थलमा दुर्घटना तथा बिरामी भएको अवस्था निशुल्क उपचार पाउनेछन् ।

कार्यस्थलमा हुने दुर्घटनाहरूको लागि रोजगारदाताले पंच कार्डहरू वा उपस्थिति रेकर्डहरू, मेडिकल प्रमाणपत्र र परिचय पत्रको प्रतिलिपि सहित दुर्घटना रिपोर्ट फाराम भरेर सोक्सोको कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । यदि दुर्घटना काममा आउँदा वा कामबाट फर्कंदा भएको अवस्थामा कागजातहरूका अतिरिक्त पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्शा पनि सामेल गरेको हुनुपर्दछ ।

कार्यस्थलको दुर्घटना वा कार्यस्थल जाँदा आउँदाको दुर्घटनामा वा कार्यस्थलजन्य रोगवाट पीडित भएका श्रमिकहरुका लागि सोक्सोसंग आवद्ध प्यानल क्लिनिक, सरकारी क्लिनिक र सरकारी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको सुविधा पाइनेछ । साथै, पूर्ण रुपमा अक्षमता भएका, भविष्यमा शतप्रतिशत आय क्षमता गुमाएका, निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिकहरु तोकिएको मेडिकल बोर्डको सिफारिशका आधारमा निरन्तर उपस्थिति भत्ताका हकदार हुने व्यवस्था गरिएको छ ।

असक्षमता भत्ता प्रदान गरिने
यसैगरी मृत्यु भएका श्रमिकहरुको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा तोकिए बमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराइनेछ ।

अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने सुविधाहरु हुन् । कुनै पनि श्रमिक दुर्घटनामा परी स्थायी रुपमा आय आर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्न योग्य हुन्छ । अस्थायी रुपमा काम गर्न असक्षम भएकाहरुले भने आय आर्जन तोकिएका शर्तका अधीनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्दछन् ।

मृतक परिवारलाई आजीवन भत्ता
सोक्सो र बोर्डसँग भएको हस्ताक्षर अनुसार मलेसियामा कार्यस्थलामा मृत्यु भएको मृतकका परिवारलाई आजीवन भत्ता पाउने व्यवस्था गरेको छ । आश्रित लाभ अन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको विधवा, विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्न सक्ने व्यवस्था छ ।

त्यस्तै, मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम नै प्राप्त गर्न सक्ने व्यवस्था छ । यदि श्रीमान, श्रीमती वा छोराछोरी नभएमा बाबुआमा, दाजुभाई, हजुरबा हजुरआमाले दैनिक तलबदरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

३ लाख नेपाली सामाजिक सुरक्षाको दायरमा
विगतमा ‘फरेन वर्कर कम्पेन्सेसन सेम (एफडब्लूसीएस)’मा आबद्ध भएक श्रमिकको ३१ डिसेम्बर २०१९ सम्मका लागि एफडब्लूसीएसको म्याद समाप्त भएको अर्को दिन सोक्सोमा दर्ता गराउनुपर्ने नियम रहेको थियो ।

तर १ जनवरी २०२० पश्चात भने सबै रोजगारदाताले अनिवार्य रुपमा सोक्सोमा आवद्ध गराउनुपर्ने व्यवस्था छ । यसै अनुसार हालसम्म ४ लाख भन्दा बढी रोजगारदाता र ७० लाख भन्दा बढी स्वदेशी तथा विदेशी श्रमिक सोक्सोमा आवद्ध भइसकेका छन् । मलेसियाभर यस संस्थाका ५४ कार्यालयहरु रहेका छन् ।

त्यसैगरी, यस सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान रहिआएकोमा सोक्सामा हालसम्म करिब ३ लाख नेपाली श्रमिकहरू यसमा आवद्ध भैसकेको जनाएको छ ।

यस समझदारीपत्र पश्चात मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको सामाजिक सुरक्षालाई प्रभावकारी तुल्याउनका निम्ति सामाजिक सुरक्षा वापतका लाभहरुको प्रवाह, विचारको आदान प्रदान तथा श्रमिक तथा सरोकारवालाहरुको सचेतीकरणका मुद्दाहरुमा दुवै देशवीच सहकार्यको अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु